चिनियाँ कम्पनीले पनि हुरुक्कै पारे नेपालीलाई
चिनियाँ कम्पनीले कामको दाम नदिएपछि नेपाली पेटी ठेकेदारहरू हुरुक्कै भएर प्रशासन गुहार्न बाध्य भएका छन् ।
स्रोतका अनुसार राष्ट्रिय गौरवको योजना मानिएको हेटौंडा–काठमाडौं द्रुतमार्ग निर्माण गर्ने काम पाएको पोली चाङदा इञ्जिनियरिङ कम्पनीविरुद्ध व्यवसायीहरू काम गराएबापतको रकम भुक्तानी नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा उजुर हाल्न पुगेका छन् । ती व्यवसायी तथा फर्महरूलाई चिनियाँ कम्पनीले करिब १ करोड २० लाख रुपैयाँ भुक्तान गर्न बाँकी रहेको निवेदनमा उल्लेख छ ।
सो कम्पनीले फास्ट ट्रयाकको प्याकेज नम्बर २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ र मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ मा माटो कटान गर्ने ठेक्का पाएको थियो । कम्पनीले मकवानपुरको लेनडाँडा र चालिसेडाँडामा काम लगाएबापतको भुक्तानी नदिएको गुनासो छ ।
पेटी ठेकेदार भई काम गर्नेमध्ये जिएलबी कन्स्ट्रक्सनले ४० लाख, सोमबहादुर तिम्सिनाको बी एण्ड बी कन्स्ट्रक्सनले १८ लाख, सुमन दाहालको अभिनाश ढुवानी सेवाले १८ लाख, प्रेमबहादुर मोक्तानको जय गौरी शंकर कन्स्ट्रक्सनले १३ लाख ८४ हजार, कालीदेवी कन्स्ट्रक्सनले १० लाख ७ हजार, राजीव घलानको आर्यतारा कन्स्ट्रक्सनले ८ लाख ३० हजार, बी एण्ड बी कम्पनी (ख) गु्रपले ५ लाख रकम भुक्तानी पाउन बाँकी रहेको बताइन्छ । त्यसैगरी, चिनियाँ कम्पनीसँग ५ लाखभन्दा कम भुक्तानी पाउन बाँकी रहेका स्थानीय पेटी ठेकेदारको संख्या एक दर्जनभन्दा बढी छ ।
टिप्पणीहरू