ओलीप्रति बालेनको कटाक्ष, डोनाल्ड ट्रम्पलाई शंकर पोखरेको जवाफ

ओलीप्रति बालेनको कटाक्ष, डोनाल्ड ट्रम्पलाई शंकर पोखरेको जवाफ
सुन्नुहोस्

अमेरिकामा दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्पको नयाँ-नयाँ निर्णयले विश्व तरंगित छ । अवैध आप्रवासीलाई देश निकाला गर्ने र वैदेशिक सहायता रोक्ने ट्रम्पको कदमले विश्वका अन्य मुलुकजस्तै नेपाल पनि प्रभावित छ।

राष्ट्रपति ट्रम्पले हालै एउटा कार्यक्रममा नेपालले पाउँदै आएको सहायता तथा अनुदानलाई फ्रड (ठगी) को संज्ञा दिएपछि अनेकौँ टिप्प्णी भैरहेका छन् । यसैबीच सामाजिक सञ्जालमार्फत् एक-अर्कालाई कटाक्ष गरिरहने सत्तारुढ एमालेका महासचिव शंकर पोखरेल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । 

अमेरिकी सहायता ठगी हो भने त्यसको नैतिक दायित्व राष्ट्रपति ट्रम्पले लिनुपर्ने पोखरेलको भनाई छ । गरिब देशमाथि हुने अपमानबाट जोगिन अब आफैँ अभियानमा लाग्नुपर्ने बताउँदै उनले भनेका छन्, ‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्वन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन्, त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन् भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि !’

मेयर बालेनले भने यो सन्दर्भमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न तेर्स्याएका छन् । नेपाली नागरिकका लागि जीवनयापनको आधार सुनिश्चित गर्न उनको  माग छ । 

‘प्यारो प्रधानमन्त्रीज्यु, अमेरिकाले करप्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन’, कवितात्मक शैलीमा बालेनले लेखेका छन्, ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस् ।’

टिप्पणीहरू