हिजो ज्यादती, आज माफी
भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीहरुमाथि हिजो भएको दुर्व्यवहारप्रति माफी मागेको छ । विश्वविद्यालयले नेपाली विद्यार्थीहरुमाथि दुर्व्यवहार गरेका गार्ड र कर्मचारीलाईसमेत निलम्बन गरेको जनाएको छ ।
होस्टलमा छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले न्यायका लागि प्रदर्शन गरेका थिए । तर, लगत्तै विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई हिजै होस्टलबाट दुर्व्यवहार गर्दै निष्कासन गरेको थियो ।
विश्वविद्यालयले आज जारी गरेको विज्ञप्तिमा दुुईजना गार्डलाई बर्खास्त गरेको, दुई वरिष्ठ होस्टल कर्मचारी र एक वरिष्ठ प्रशासपनक अधिकारीलाई निलम्बन गरेको उल्लेख छ । उनीहरुमाथि अनुसन्धान थालिएको जनाउँदै विश्वविद्यालयले हिजो निस्कासन गरिएका नेपाली विद्यार्थीलाई फर्किन आह्वान गरेको छ ।
नेपाली विद्यार्थीहरूलाई फर्काउन २४ घण्टे कन्ट्रोल रूम सञ्चालन गरिएको जनाउँदै विश्वविद्यालयले ‘कुनै पनि असुविधाका लागि माफी” मागेको छ ।
उक्त विश्वविद्यालयमा १५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइन्छ ।

टिप्पणीहरू