संसदमा हिजो आक्रोशित सांसद आज ‘अनुपस्थित’

संसदमा हिजो आक्रोशित सांसद आज ‘अनुपस्थित’
सुन्नुहोस्

प्रतिनिधिसभाको हिजो बैठकमा सभामुख देवराज घिमिरेलाई औंला ठड्याउँदै र टेबल ठोक्दै बाहिर निस्किएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आजको बैठकमा अटेर गरेकी छन् । हिजो बोल्न पाइएन भन्दै झोक्किएर बैठक कक्षबाट निस्केकी श्रेष्ठलाई आज सभामुखले समय दिनुभएको थियो, तर उनी अटेर गर्दै कुर्सीबाटै उठिनन् । 

सभामुख घिमिरेले एमाले सचेतक सुनिता बरालपछि श्रेष्ठलाई समय दिनुभएको थियो । तीन पटक नाम दोहोर्याउँदै भन्नुभयो, ‘माननीय सुमना श्रेष्ठ....माननीय सुमना श्रेष्ठ...माननीय सुमना श्रेष्ठ’ । तर श्रेष्ठ भने अटेर गर्दै सभामुखको आवाज नसुनेझैं गरेर झोला छामिरहिन् । उनी कुर्सीबाटै नउठेपछि सभामुख घिमिरेले नेकपा (माओवादी केन्द्र)की सांसद सुशिला श्रीपालीलाई समय दिनुभयो । 

यसअघि बिहान सभामुख घिमिरेको सचिवालयले सांसद श्रेष्ठ र सोविता गौतमले ‘मिडियाबाट प्रेसर क्रियट’ गर्न खोजेको टिप्पणी गरेको थियो । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भनेका छन्, ‘आफूलाई केन्द्रमा राखेर मात्र सोच्ने र अरूको दृष्टिकोणलाई नबुझ्ने, आफ्नै विचार मात्र साँचो ठान्ने र अरूको मतलाई अस्वीकार गर्ने व्यवहारलाई इगोसेन्ट्रिजम भनिन्छ ।’

सांसदद्वय श्रेष्ठ र सोबिाता गौतमले संसदमा सभामुखले बोल्न नदिएको भन्दै फेसबुकमा स्टाटस लेखेपछि प्रेस सल्लाहकार अधिकारीले उक्त प्रतिक्रिया दिएका हुन् ।
 

टिप्पणीहरू