कसले दियो संसद् भवन उडाउने धम्की

ड्रोनबाट बम आक्रमणको हल्ला, संसद् भवनमा दिउँसै खैलाबैला ! गत शुक्रबारको घटना हो यो । नयाँ बानेश्वरमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक चल्दै गर्दा त्यहाँ ड्रोनबाट बम हान्न लागिएको म्यासेज आयो । र, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरियो । तर, म्यासेज आएजस्तो केही भएन । कसैले बम राखेको नक्कली सूचना दिएर आतंक मच्चाउन खोजेको बुझियो । भारतीय नम्बरबाट धम्की आएको सुरक्षा श्रोतको भनाइ छ । ‘म्यासेज आएको थियो ।
हामीलाई जानकारी भएपछि खोजतलास गरियो तर केही भेटिएन । कसैले फेक सूचना दिएको रहेछ । हाल प्रहरीले अनुसन्धान गरिरहेको छ । नम्बर ट्रेस आउट भइसकेको छ, भारतबाट आएको पत्ता लागेको छ’, उपत्यका प्रहरी कार्यालयस्थित एक उच्च श्रोतले भन्यो । प्रतिनिधिसभाका प्रवक्ता सहसचिव एकराम गिरीले बमको विषयमा कुनै सूचना नआएको दाबी गरे ।
उनले भने, ‘त्यस्तो सूचना निजामती कर्मचारीतर्फ कसैलाई आएको छैन । आएको भए मलाई जानकारी हुन्थ्यो ।’ जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले पनि बमको ‘थ्रेट’ आएको विषयमा केही जानकारी नभएको बताए । गत पुस १६ गते सुनसरीको धरान, ईटहरी उप–महानगरपालिका कार्यालयअगाडि र बूढीखोला पुलमा बम राखेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
इलाका प्रहरी कार्यालय, ईटहरीलाई म्यासेज गरेर बम राखेको सूचना फैलाइएको हो । प्रहरीले हालसम्म पनि सो सूचना पठाउनेलाई समात्न सकेको छैन । त्यहाँ बम राखेको विषयमा छानबिन भइरहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी भण्डारीले बताए ।
उनले भने, ‘सो दिन हाम्रो अफिसको फोनमा नेपाली नम्बरबाट म्यासेज आएको थियो । त्यसको अनुसन्धान अगाडि बढाएका छौँ । हालसम्म कोही पक्राउ पर्नुभएको छैन । अनुसन्धान जारी छ ।’ यसअघि असार २६ गते मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’ मा बम राखेको सूचना पनि आएको थियो । तर, पछि मात्र प्रहरीलाई दुःख दिन केही व्यक्तिले ‘प्य्राङ्क’ गरेको खुल्यो । प्रहरीले अफवाह फैलाएको आरोपमा एक जनालाई नियन्त्रणमा समेत लिएको थियो ।
टिप्पणीहरू