लिजाको नाम, कागजमा मात्रै काम

लिजाको नाम, कागजमा मात्रै काम
सुन्नुहोस्

लिजा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गर्ने प्रणाली हो । यसमा विकासका विभिन्न पक्षको सन्तुलन परीक्षण गरेर वार्षिक स्वपरीक्षणको नतिजा सार्वजनिक गरिने कानुनी व्यवस्था छ । लिजाको स्वपरीक्षण आफ्नो नम्बर स्थानीय तह आफैंले घोषणा, सार्वजनिक र संघीय सरकार तथा प्रदेश सरकारमा पठाउनुपर्ने हुन्छ । तर, यो स्वमूल्यांकनसँग सम्बन्धित काम कागजमा मात्रै ठिक्क पार्ने, व्यवहारमा भने कार्यान्वयन नआउने अवस्था छ । 

स्थानीय निकाय हुँदा (न्युनतम कार्यसम्पादन तथा मूल्यांकन) प्रणाली थियो । यसको मूल्यांकनका लागि कर्मचारी र लेखापरीक्षकले कागज र स्थानीय निकायमा बढी बजेट पठाउने मेलोमेसो मिलाउँथे । अहिले त्यस्तै कागजी प्रतिवेदन राख्दै एलआइएसए, एलइडी र एफआरएलाई दुरुस्त पार्ने होडबाजी चलेको देखिन्छ । नम्बर कम आए पनि भएको दाबी गरिएका कामबारे सरोकारवालाले थाहा पाउनुपर्ने हो । 

शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय लिजा स्वमूल्यांकनका १० आधार हुन् । बागमती प्रदेशमा ८२.६९ प्रतिशत नम्बर ल्याएका स्थानीय तहहरूले ललितपुरमा भने औसत ७९.१३ प्रतिशत नम्बर मात्रै पाएका छन् ।

ललितपुर विपद व्यवस्थापन र वातावरण संरक्षणका सवालमा सबैभन्दा कमजोर देखिएको छ । ४१.६७ प्रतिशत नम्बर ल्याएर आफूलाई लज्जाजनक अवस्थामा राखेको ललितपुर ढुंगाखानी, क्रसरदेखि प्रदूषणका हरेक विवादलाई निरूपण गर्न नसकेर विकृतिको साक्षी बसिरहेको पाइएको छ । ललितपुरका स्थानीय तह सहकार्य र समन्वयमा पनि कमजोर देखिएका छन् । महालक्ष्मी नगरपालिकाले औसतमा ७५ प्रतिशत अंक ल्याएको छ । सहकार्य र समन्वयमा १६.६७ प्रतिशत अंक ल्याएको स्थानीय तह कसरी चलेको होला ? आन्तरिक सहकार्य, समन्वय र अन्तर स्थानीय तह तथा बाह्य सहकार्य समन्वयको अवस्थामा गम्भिर प्रश्न उठेको देखिन्छ । वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा २७.७८ प्रतिशत रहेको छ । 

कोञ्जोसोम गाउँपालिकाले औसतमा ८२.७५ नम्बर ल्याएको छ भने शासकीय प्रवन्ध र संगठन तथा प्रशासनमा सतप्रतिशत अंक हात पारेको छ । अंक सार्वजनिक गर्ने प्रक्रिया बाँकी भए पनि कागजी कामहरूमा भने प्रश्न उठ्न थालेको छ । वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) र स्थानीय आर्थिक विकास मूल्यांकन (एलइडी)को प्रतिवेदन पनि सार्वजनिक भएको छैन । जिल्ला समन्वय समितिले हालै समीक्षा बैठक गरेको छ तर यी प्रतिवेदन बेगर गरिएको समीक्षा कागजी मात्रै भएको थप प्रमाणित भएको छ । जिल्लास्तरीय समीक्षामा उपस्थित हुँदा दुईवटा स्थानीय तह कोञ्ज्योसोम र महालक्ष्मीले मात्रै लिजाको अवस्था सार्वजनिक भएको जानकारी गराएका छन् । 

०७९/८० मा ललितपुरमा वित्तीय जोखिम स्वमूल्यांकनतर्फ वागमती गाउँपालिकाले आफूलाई सबैभन्दा सुरक्षित अर्थात ८३.५ अंक ल्याएको सार्वजनिक गरेको थियो भने महालक्ष्मीले आफूलाई ३६.५ अंक दिएको थियो । महालक्ष्मीले सबैभन्दा कम अंक ल्याएको थियो । स्थानीय सरकारको सर्वांगीण पक्षको आन्तरिक परीक्षणको हिसाबले दिइएका यी सूचकहरूमा यतिधेरै कमजोरी छ अझ यो अवस्था कायम गर्न पनि कागजको जोरजाम मात्रै गर्ने र फिल्डमा काम नगर्ने परिपाटीको चर्को आलोचना भएको छ । समन्वय नभएको भन्दै जिल्ला समन्वय प्रमुख ऋषिदेव फुयाँलले स्थानीय तहका प्रमुख उपप्रमुखप्रति असन्तुष्टि पोखेपछि चिन्ताजनक तथ्य उदांगिँदै गएका हुन् । 

– अञ्जनकुमार
 

टिप्पणीहरू