एमालेभित्रका माओवादीहरूको उकुसमुकुस

एमालेभित्रका माओवादीहरूको उकुसमुकुस

दुई पार्टीबीच एकीकरण र विभाजनपछि एमालेमै रहेका धेरै नेता तथा कार्यकर्ता माओवादीतिरै फर्किसकेका छन् । बाँकी पनि उकुसमुकुसमा छन् । दुवैको स्कुलिङ, तरिका, सोचाइ, दृष्टिकोण र आदर्शहरू फरक नै छन् । 

एमाले नेतृत्वका खासगरी अध्यक्ष केपी शर्मा ओली, शंकर पोखरेल, प्रदीप ज्ञवाली र महेश बस्नेतहरू माओवादीमाथि कठोरता देखाउँछन् । माओवादी जनयुद्धलाई हिंसा, हत्यारा, हिंसक र आतंककारी गतिविधि भन्न पछि पर्दैनन् । 

आन्दोलनबाट आएकाहरूमा एउटा आदर्श हुन्छ भने मनमा शब्दवाण बिझिरहेको हुन्छ । हुन त एमालेभित्र रहेका माओवादीहरू माओवादीविरुद्ध जति बोल्यो, त्यति नेतृत्व पंक्ति खुशी हुने गरेको ठान्दा हुन् । गत साता अछाम गएर पूर्व माओवादी कमाण्डर तथा हाल एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) ले जनयुद्धलाई हिंसा र जनयुद्ध दिवस मनाउनुलाई माओवादीको स्टन्टबाजी भन्नुको खास कारण नेतृत्वलाई खुशी पार्नु नै थियो । 

महेश बस्नेतले थापाको भनाइ शेयर गरे । उक्त भनाइप्रति एमालेभित्रै रहेका केही माओवादीले बूढोले कसरी ९० डिग्रीमा फन्को मारे भनेर आश्चर्य प्रकट गरे ।

पूर्वमाओवादी तथा हाल एमाले सिन्धुपाल्चोकमा निष्क्रिय नेता दावा तामाङले थापाको अभिव्यक्तिप्रति घोर आपत्ति जनाए । यसैगरी हाल एमाले लुम्बिनी प्रदेश कमिटी रहेका प्रमोद शर्माका अनुसार नेताहरूको भाषण सुन्दा कार्यक्रमबाट उठौं जस्तो लाग्छ किनभने तिनका बोली असान्दर्भिक, अराजनीतिक र पूर्वाग्रहप्रेरित हुने गर्दछन् । तर के गर्नु, चुप लागेर बस्नैपर्‍यो । भूमिकाप्राप्त माओवादीहरूमाथि पनि एमालेले गहिरो निगरानी राख्ने गरेको दुखेसो छ । 

– तिलक मल्ल (क्षितिज)
 

टिप्पणीहरू