आइदिएबापत मन्त्रीलाई टिकट

आइदिएबापत मन्त्रीलाई टिकट

गायक पशुपति शर्माले गाएको एउटा चर्चित गीत थियो, ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै हो छुट ।’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सो गीतलाई ‘ब्यान्ड’ गरेको थियो । विडम्बना, सरकारले गीतमा रोक लगाए पनि व्यवहारमा भने लगाउन सकेको छैन ।

भिआइपीहरू एउटा टिकटसमेत अर्कालाई काट्न लगाउँछन् । संघीय वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा माघ २० गते कपिलवस्तुको जगदीशपुरमा आयोजित २९ औं विश्व सिमसार दिवस तथा १२ औं चरा महोत्सवमा सहभागी थिइन् । कपिलवस्तु नगरपालिका–९ र १० को बीचमा अवस्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल परिसरमा भएको कार्यक्रममा उनलाई प्रमुख अतिथि बनाइएको थियो । 

बिरुवा रोप्दै कार्यक्रम उद्घाटन गरिन् । सो क्रममा तीनै तहको सरकारसँग सहकार्य गर्दै जलाशयको प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइन् । भाषणको क्रममा स्थानीयलाई आर्थिकोपार्जनसँग जोड्ने बताएकी उनी आयोजकलाई चुना लगाएर हिँडेको पाइएको छ । काठमाडौं फर्किने टिकटसमेत आयोजकलाई काट्न लगाइन् । 

मन्त्रीसहित पिएसओ सन्तोष बिक र मन्त्रालयकी कर्मचारी देवकुमारी तिमिल्सनाको हवाई टिकटको व्यवस्थापन जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चले गरिदिएको हो । टिकटको १५ हजार रुपैयाँ पनि तिर्न नसकेको भन्दै उनको चर्को आलोचना भइरहेको छ । उनीहरू यति एअरलाइन्समा भैरहवाबाट काठमाडौं आएका थिए । मञ्चका संयोजक ललित गुरुङले उनीहरूको सत्कारमा मञ्चले टिकट उपहार दिएको बताए ।

‘कार्यक्रममा प्रदेशको मन्त्रीलाई बोलाउने तय भएको थियो । तर, कोही पनि आउन नभ्याउनुभएपछि उहाँलाई निमन्त्रणा गर्‍यौँ । उहाँ हाम्रो निमन्त्रणा स्वीकार गरेर आउनुभयो । हाम्रो आग्रहमा व्यस्त समयको बाबजुद आइदिनुभयो । त्यसैले सत्कारस्वरुप हवाई टिकट दिएका हौं’, उनले भने । 

तर, स्रोतले भने मन्त्रीले नै टिकट काट्न लगाएको दाबी गरेको छ । स्रोत भन्छ, ‘मन्त्रीले नै मुख फोरेपछि आयोजकले टिकट नकाटेर भो त !’
 

टिप्पणीहरू