लक्ष्मीलाई पठाउने,रास्वपा दोहोरो रुप देखाउने
संसदमा दर्ता भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथि छलफल गर्न महिला,कानुन र विकासका लागि मञ्च (डब्लुएफएलडी) ले हिजो बिहान राजधानीको अल्फा हाउसमा एउटा कार्यक्रमको आयोजना गर्यो । प्रतिनिधि सभाका अधिकांश महिला सांसद उपस्थित थिए । वरिष्ठ अधिवक्ता मीरा ढुंगाना र अधिवक्ता सुष्मा गौतमले विधेयकको मुख्य पक्ष र प्रभावबारे प्रकाश पारे ।
कार्यक्रममा चिया नास्ता र खानाको व्यवस्थापन पनि गरिएको थियो । रोचक प्रसंग के भने, सबै पार्टीका अधिकांश महिला सांसद उपस्थित भएको कार्यक्रममा ‘जान्नेलाई छान्ने’ पार्टीबाट एक जना मात्रै सहभागी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद लक्ष्मी तिवारी मात्रै कार्यक्रममा देखा परिन् । श्रोतका अनुसार उनी कार्यक्रममा उपस्थित भएपछि रास्वपा सांसदहरु रुष्ट बनेका छन् । यता, रास्वपाले दोहोरो चरित्र देखाएको भन्दै प्रश्न उठाइएको छ ।
गत असारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजिओको खाजा पुगेपछि भाँडभैलो मच्चिएको थियो । रास्वपा सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने बैठकबाट उठेर हिँडेका थिए । सोही पार्टीबाट सांसद चन्दा कार्कीले गैरसरकारी संस्थाको खाजा खाएर कानुन बनाउने विषय गम्भीर हुने तर्क गरेकी थिइन् ।
रास्वपाबाट दुई जना जाने तय भए पनि एक जनाले नभ्याएपछि आफू मात्र गएको उनको भनाइ छ ।
यता,रास्वपा सांसदहरुले प्रतिनिधि सभाको बैठकमा कानुन निर्माण प्रक्रिया निश्चित व्यापारिक घराना,व्यवसाय र एनजिओको कब्जामा भएको विषय उठाउँदै आएका छन् । कानुन निर्माणमा एनजिओहरुको हस्तक्षेप भएको आरोप लगाउँदै आएको पार्टीकी सांसद नै विधेयकमाथि छलफलको नाममा एनजिओको कार्यक्रममा पुगेपछि विवाद हुनु स्वाभाविकै हो ।
श्रोत भन्छ,‘जुन संस्थाले कार्यक्रमको आयोजना गर्यो, त्यो युएसएआईडीलगायतका सरकारसँग सहकार्य गरेको संस्था होइन । ती संस्थाले आफ्नो महत्वकांक्षाअनुसार कार्यक्रम गर्छन् । सांसदहरु ती कार्यक्रममा सहभागी हुन्छन् अनि त्यहीँ बनेको डकुमेण्ट प्रतिनिधि सभाको बैठकमा पढेर सुनाउँछन् । यस्तो पाराले कानुन निर्माण कसरी निष्पक्ष हुन्छ ? रास्वपाले विगतदेखि नै कानुन निर्माणमा एनजिओहरुको हस्तक्षेप बढी भएको बताउँदै आएको छ । तर, त्यहीँ पार्टीका सांसद त्यस्ता कार्यक्रममा सहभागी हुन्छन् । देखाउने दाँत एउटा र चपाउने अर्को भनेको यही होला !’
सांसद तिवारीका अनुसार सबैलाई कार्यक्रममा बोलाइएको थियो । रास्वपाबाट दुई जना जाने तय भए पनि एक जनाले नभ्याएपछि आफू मात्र गएको उनको भनाइ छ । जनआस्थासँग उनले भनिन्,‘हिजोचाँहि नागरिकताको विषयमा छलफल भएको थियो । आमाको नामबाट र अनाथ बालबालिकालाई कसरी नागरिकता दिलाउने भनेर गहन छलफल गरियो । हाम्रो पार्टीको सबैलाई निमन्त्रणा गरिएको थियो । दुई जना जाने तय भएको थियो । तर, उहाँ जान नभ्याउनुभएपछि म गएकी हुँ ।’
टिप्पणीहरू