अध्यादेश संकट थप गहिरिँदै
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जनाएको छ । पार्टी संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
सरकारले यसअघि जारी गरेका छ वटा अध्यादेशको विस्तृत अध्ययन गर्न पार्टी उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल नै बनाइएको थियो । कार्यदलले पाँच वटा अध्यादेशमा कुनै समस्या नरहे पनि भूमिसम्बधी अध्यादेशमा भने बद्नियत रहेको निश्कर्ष निकालेको हो ।
कार्यदलकै सुझावमा पार्टीले औपचारिक निर्णय गरेको भनिएको छ । सत्तापक्ष र प्रतिपक्षका सांसद बराबर ५९ सदस्यीय राष्ट्रिय सभामा तीन सांसदसहित जसपा नेपाल निर्णायक भूमिकामा छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभामा गत बिहीबारको बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची तय भए पनि जसपा नेपाल अनिर्णित बन्दा सरकार पछि हटेको थियो । अध्यक्ष यादवले सोही दिन सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता समेत गरेका थिए । भेटमा अध्यक्ष यादवले मधेशको मुख्यमन्त्री दिने शर्तमा अध्यादेश समर्थन गर्ने प्रस्ताव राखेको काँग्रेसकै एक नेताले खुलाएका थिए ।
टिप्पणीहरू