पैसा नचलाउने छवि भित्र,खुइँखुइँ चेक काट्ने रवि बाहिर
बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना मुद्दामा नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश भएको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले आज उनलाई मुद्दा पुर्पक्षका लागि कारागारमा राख्न आदेश गरेको हो । यो मुद्दामा रवि लामिछानेलाई भने न्यायाधीश प्रह्लादकुमार योगीले १ करोड धरौटीमा छाड्न आदेश दिएका थिए ।
जिबी राई अध्यक्ष र रवि प्रवन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष जोशी काठमाडौँ र कास्कीमा भने धरौटीमा छुटेका थिए । पोखराको सूर्यदर्शन र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा क्रमश: ८८ र ५० लाख धरौटीमा रिहा भएका उनी रुपन्देहीमा पनि अभियोग दर्ता भएपछि आफैँ अदालतमा उपस्थित भएका थिए ।
प्रवन्ध निर्देशकको हैसियतमा सयौँ चेकमा दस्तखत गरी करोडौं रकम परिचालन गरेका रवि धरौटीमा छुट्दा पैसाको हिसावकितावमा प्रत्यक्ष संलग्न नदेखिएका जोशीले भने बाहिर बसेर मुद्दा लड्ने सुविधा पाएनन् । उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको अवस्था छ ।
टिप्पणीहरू