यसरी बने रोल्पामा सरकारी भवन

यसरी बने रोल्पामा सरकारी भवन

०१७ साल पुस १ गतेको घटनापछि १४ अञ्चल र ७५ जिल्लाको विभाजन अनि सोहीअनुसार गाउँ तथा नगर पञ्चायत गठन गर्ने क्रममा रोल्पा जिल्ला निर्माण भएको हो ।

प्युठानको विकट कालाशेष थुम र बाईसखुवा थुम तथा सल्यानको दार्माको थुम र रोल्पाकोट गरी ४ थुम मिसाई नयाँ जिल्लाको रूपमा रोल्पा बनेको हो । नाम र सदरमुकाम कहाँ राख्ने भन्नेबारे छिनोफानो गर्ने जिम्मा तत्कालीन प्युठान जिल्लाका बडाहाकिम (हाल : सिडिओको काम गर्ने) लाई तोकिएकाले रत्नबहादुर गुरुङ २०१८ सालमा गजुल आई खडानन्द सुवेदीसँग भेट गरी रोल्पा र लिबाङ नाम रोजिएको हो ।

बडाहाकिमले लिबाङभन्दा राम्रो ठाउँ गजुल, मिझिङ भएको तर लिबाङमा सदरमुकाम किन राख्ने भनी प्रश्न गर्दा सुवेदीले प्रशस्त पानी भएको जग्गा प्रदान गर्न जनता उत्सुक रहेको तथा थुममध्ये रोल्पाकोट थुमबाट रोल्पा राखिनुपर्ने तर्क दिएपछि सोहीअनुसार सिफारिस भयो । त्यसपछि जिल्लालाई विभिन्न ५२ गाउँ पञ्चायतमा भौगोलिक विभाजन गरियो । 

त्यतिखेर एउटा प्रहरी चौकी माडीचौरमा औलो लाग्ने कारण बस्न नसक्ने भई लिबाङमै सारिएको थियो । यसैबीच रोल्पा जिल्ला पञ्चायतका लागि खटिई आएका चन्द्रभुवन कर्ण २०१९ साल भदौ महिनामा सल्यान गौंडामा बसे । त्यहाँ १ जना लेखापाल दुर्गाबहादुर श्रेष्ठलाई नियुक्त गरियो । पिडिओ कर्णलाई लिबाङसम्म पुर्‍याउन ४ जना भरियाको लागि ओसे घर्तीसँग समन्वय गरियो । निज हाल टोपबहादुर के.सीको घर रहेको स्थानमा पुनाराम आचार्यले निर्माण गरेको ६ कोठे पाठशालाको एक कोठामा अफिस खोली सुदर्शन आचार्यको घरमा डेरा लिएर बस्न थाले । ६/७ महिना त्यसरी नै चलेपछि सुदर्शनले ८ कोठा भएको अर्को घर निर्माण गर्नुभयो । हाल पिपलचौतारास्थित बोर्डिङ स्कूल भएको स्थानमा बनेको सो घरमा २०१९ साल मंसिर मसान्ततिर सरी जिल्ला पञ्चायत कार्यालय सञ्चालन हुन थाल्यो । सो घर जग्गा पछि बालकल्याण माविलाई दानपत्र पारित भयो । सो घरजग्गा बिक्री गरी हाल बालकल्याण मावि रहेको स्थानमा केही जग्गा खरिद भएको हो।

२०१८ सालमा गाउँ र २०१९ सालमा जिल्ला पञ्चायतको निर्वाचन सम्पन्न भएपछि सभापतिमा नारायणप्रसाद चन्द र उपसभापतिमा बालाराम घर्र्तीमगर २ वर्षको लागि निर्वाचित भए । पछि राष्टिय पञ्चायत सदस्यमा निर्वाचित भएता पनि सभापति र उपसभापति उनीहरू नै थिए । २०२१ सालमा खडानन्द सुवेदी सभापति निर्वाचित भए । जिल्ला पञ्चायत भवन (हालको जिविस) उनकै पालामा निर्माण सुरुवात भएको हो । सो भवन बनाउन जिल्ला पञ्चायतको निर्णय अनुसार देउपुजेडाँडा (हाल सेनाको व्यारेक रहेको स्थान) स्थान छनौट भई कुलो निर्माण तथा घडेरी तयार गरिएपछि शिलान्यासको लागि अञ्चलाधीश सत्यनारायण झालाई लैजाँदा सो ठाउँ उपयुक्त नलागेकाले शिलान्यास गर्न इन्कार गरे ।

त्यत्तिकै फर्केर आउँदा माथिबाट हाल जिविस रहेको स्थान देखाउँदै सो ठाउँ उपयुक्त रहेको बताएपछि खरिद प्रक्रिया थालनी भएको थियो । त्यसै रात बैठक भयो । त्यो जग्गा दीर्घराज सेनको भएकोले उनीसँग मोलमोलाइ हुँदा २ हजार २०० रूपैयाँमा कुरा मिल्यो । सो रकम चुक्ता गर्न विभिन्न व्यक्तिले सहयोग गर्नुभएको थियो । त्यसका लागि गजुलका खडानन्द सुवेदी ३०० रूपैयाँ, ओविलाल सुवेदी ३०० रूपैयाँ, ताराप्रसाद आचार्य ३०० रूपैयाँ, सुदर्शन आचार्य ३०० रूपैयाँ सहयोग गर्नुभएको थियो । यसैगरी चिन्तामणि आचार्य २०० रूपैयाँ, गजाधर आचार्य २०० रूपैयाँ, हरिहर आचार्य २०० रूपैयाँ, भीमकान्त आचार्य २०० रूपैयाँ, एकदेव आचार्यले २०० रूपैयाँ सहयोग दिनुभएको थियो ।

तर, उक्त रूपैयाँ सोही रात उपलब्ध गराउन कोही कसैको हिम्मत नभएकाले १५ दिनभित्र बुझाउने भाका गरी जग्गा राजीनामा गराएर अञ्चलाधीश सामुन्ने भन्न लगाई भोलिपल्ट बिहान शिलान्यास भयो । रा.पं.स. नारायण चन्दले भवन बनाउन रोकेपछि सभापति खडानन्द सुवेदी र रेगबहादुर सुवेदी गएर फुकुवा गराउनुपरेको थियो । २०२३ लाल असारमा भवन निर्माण सम्पन्न भयो । भवन निर्माणको हेड मिस्त्री प्युठान गोठिबाङका गंगाराम घर्ती हुन् । त्यसपछि जिल्ला पञ्चायत कार्यालय त्यसै भवनबाट सञ्चालन हुन थाल्यो जुन अद्यावधिक छ । त्यस बेला का.मु.पि.डि.ओ. टंकनाथ पथिक थिए । सो भवन बनेपछि टुँडिखेलको जग्गा दूरसञ्चारले अधिग्रहण गरेको हो । 

त्यस समय सदरमुकाम अन्यत्र सार्नुपर्छ भन्ने बहस चलिनै रहन्थ्यो । त्यसैले केही जग्गा सरकारको नाममा ल्याउने सल्लाह भयो र आर्थिक संकलन पनि गरियो । सदरमुकाम नजिकका १२ गाउँ पञ्चायतबाट एक हजार रूपैयाँ को दरले जम्मा १२ हजार रूपैयाँ उठाउने तय गरी सबैलाई परिचालन गरिएको थियो ।

यसरी उठाइएको १२ हजार रूपैयाँमध्ये १० हजार रूपैयाँले हाल दूरसञ्चार कार्यालय रहेको घरजग्गा खरिद गरियो । जुन घरजग्गा दिएर हाल टुँडिखेल रहेको जग्गा सट्टापट्टा भयो । बाँकी रहेको २ हजार रूपैयाँबाट जिल्ला प्रहरी कार्यालयलाई जग्गा दलजित दमाईंबाट किनियो । तत्पश्चात् आवश्यकतानुसार बाँकी जग्गा खरिद गर्दै कार्यालय भवन बन्दै गए ।

०३३ सालमा जिल्लालाई पुनर्गठन गरियो । यसक्रममा साविक रोल्पा जिल्लाबाट कटौती भई रुघा, पेउघा र खारा रुकुमतिर सरे । यसैगरी दार्माकोट, ढाकाडाम, भल्चौर, कालागाउँ, थारमारे, कोटमौला, ठूलागाडाकोट, दुविडाँडा, कोटमौला र नुवाकोट सल्यान जिल्लातिर परे । प्युठानबाट जौलिपोखरी, घोडागाँउ, खुंग्री र मसिना रोल्पा जिल्लामा मिसाइए । सल्यानबाट बुढागाउँ, जुँगार, गैरीगाउँ, नुवागाउँ, झेनाम, डुव्रिङ, दुविडाँडा र सखी गाउँपञ्चायत रोल्पा जिल्लामा ल्याइए । 

यति मात्र होइन, जिल्लाभित्रै परेका केही गाउँपञ्चायतको नाम पनि संशोधन तथा विभाजन गरिए । जसअनुसार फगामखोला गाउँपञ्चायतको विभाजन भई फगाम र जैमाकसला बने । सुनछहरी विभाजन भई स्युरी र हार्जङका नामले चिनिए ।

टिप्पणीहरू