ओलीलाई युवाको चिन्ता, देउवालाई पार्टीको
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरुले विदेशमा पुगेर अर्काको देश बनाएको तर आफ्नो देश बनाउन कुनै चासो नदिएको टिप्पणी गर्नुभएको छ ।
आज राजधानीमा आयोजित ‘युवा अन्तक्रिया’ कार्यक्रममा बोल्दै उहाँले नेपालमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि युवाहरु महत्वाकांक्षाले विदेशिएको बताउनुभयो । यद्यपि, देश बनाउन चाहिने जनशक्ति अहिले नेपालभित्रै रहेको उहाँको विश्वास छ।
‘विदेशमा गएर नेपाली युवाले अरुका देश बनाएका छन्, तर आफ्नो देशमा बस्दैनन्’, ओलीले भन्नुभयो, ‘तर हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन्, त्यसैले अब हामी आफै देश बनाउन लाग्नुपर्छ । यस देशबाट गरिबी समाप्त पार्नुपर्छ ।’
एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन सकिने तीन आधार पनि प्रस्तुत गर्नुभयो । ‘पहिलो, यो एउटा गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान भएका विद्वान पुर्खाहरूको देश हो । दोस्रो, यसको भूगोल समृद्ध हुनसक्दछ, हिमाल, पहाड, तालतलैयाहरु सबै छन् । र तेस्रो, यो मरुभूमि देश होइन, उर्वर देश हो’, उहाँले थप्नुभयो ।
उता सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवाले ०८४ को निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्न पार्टीपंतिलाई निर्देशन दिनुभएको छ । आज प्रदेश सभापतिहरुको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकताबद्ध भएर पार्टीको काममा लाग्न निर्देशन दिनुभएको हो ।
‘यो संविधानअनुसार बहुमत प्राप्त गर्न सहज त छैन, त्यहि पनि पार्टी एक भएर हिँडे, मतभेद बिर्सिएर हिँडे बहुमत ल्याउन सकिन्छ, पार्टीलाई त्यही दिशामा अगाडि बढाउन सबैलाई अनुरोध गर्दछु’, देउवाले भन्नुभयो ।
सभापति देउवाले पछिल्लो समय राजनीतिलाई ‘फोहोरी खेल’ भनेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै असन्तुष्टि जनाउनुभयो । राजनीति आफैँमा सुन्दर र सामाजिक भावना भएको बताउँदै थप्नुभयो, ‘जसले यो पार्टीलाई हाक्नुपर्नेछ, उहाँको काँधमा ठूलो जिम्मेवारी आएको छ । हाम्रो देशमा सुन्दर राजनीति छ, समानुपातिक र समावेशी छ, यो उत्तम व्यवस्था हो ।’
टिप्पणीहरू