भूपू भिआइपीमै भेदभाव

भूपू भिआइपीहरूलाई सुरक्षामै विभेद हुने गरेको भेटिएको छ । बहालवाला राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसहित ६ जना भिभिआइपीले अति विशिष्ट श्रेणीअन्तर्गत ‘क’ ग्रेडको सुरक्षा पाउँछन् । तर, तिनै भूपू भएपछि स्तर स्वतः खस्किन्छ । संविधानद्वारा नै भूमिकाविहीन बनाइएका उपराष्ट्रपति घर गएपछि पाइने सुविधामा समेत राज्यले विभेद गरेको भेटिएको छ ।
गणतन्त्र स्थापनाको दुई दशकमा मुलुकले तीन–तीन जना राष्ट्रपति र उपराष्ट्रपति पाइसकेको छ । यसअघि पूर्वउपराष्ट्रपतिकहाँ पछुवा खटाउने कार्यविधि रहेकोमा गृहले परमानन्द झा र नन्दबहादुर पुनको निवासबाट सेनालाई फिर्ता बोलाएको छ ।
पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीका हकमा भने सैनिक सुरक्षा कायमै छ । पूर्वप्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश पनि भूपू भएपछि सेना झिकेर सशस्त्र र नेपाल प्रहरी खटाउने चलन छ । सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेका अनुसार अहिले निवर्तमान उपराष्ट्रपतिको सुरक्षार्थ सइको कमाण्डमा ११ जनालाई कार्यदलबाट खटाइएको छ भने नेपाल प्रहरीबाट एक सई र हवल्दार पिएसओका रूपमा तैनाथ छन् ।
यसअघि ५ सैनिक पछुवा खटाउने लिखित मापदण्ड बने पनि त्यसलाई कार्यान्वयनमा ल्याइएको छैन । उता, हरितगृहमा बेग्लै रमाइलो छ । सरकारले कुनै सचिवलाई जगेडामा राख्नुपर्यो भने थन्क्याउने थलो बनेको छ, उपराष्ट्रपति कार्यालय । त्यहाँ कर्मचारी जानै मान्दैनन्, गए पनि तीन महिनाभन्दा टिक्दैनन् । कोही सचिव त दुई दिनमै सरुवा भएर हिँडेका छन् ।
जस्तो गत चैत्र मसान्तमा गएका मुकुन्द निरौला हाजिर लगाएर दुई दिनपछि नै हिँडे । त्यसपछि राधिका अर्याल तीन महिना बसेर सञ्चारमा पुगिन् । माओवादीको सत्ता हुँदा मधु मरासिनी भ्रष्टाचार मुद्दा चल्दाचल्दै अर्थमै फर्किएका थिए । एमालेको सरकारद्वारा खेदिएर उपराष्ट्रपति कार्यालय पुगेका उनी महिना दिनभन्दा बसेनन्, सरुवा मिलाएर राष्ट्रिय योजना आयोगमा छन् ।
अहिले त्यहाँ लक्ष्मी बस्नेतलाई अल्झाइएकोमा गत हप्ता दिनेश भट्टराईलाई खटाइएको छ । कार्यालय स्थापना भएयता २४ बढी सचिव हेरफेर भइसकेका छन् । निजामतीतर्फ २२ कर्मचारीको दरबन्दी छ तर विज्ञतर्फ ६ जनाले नियुक्ति पाएका छन् । जसमा जनसम्पर्क हेर्ने मञ्जारूल अन्सारी, वैदेशिक मामिलामा विनोदकुमार पौडेल, कानुनमा मिथिलेश सिंह, वातावरणमा चन्देश्वर सदा र भाषा, कला विज्ञका रूपमा जगेन्द्रबहादुर छन्त्याल, निजी चिकित्सकमा डा. शिवजीविक्रम सिलवाल अनि प्रमुख स्वकीय सचिवमा आनन्दकुमार यादवसहित ६ जना थप छन्, ती नन्दकिशोर यादव (कुमोद), दिनेश यादव, शत्रुधन यादव, विनित यादव हुन् । सो कार्यालयको तलवमा मात्र ४६ लाख हाराहारी मासिक खर्च उठ्ने गर्दछ ।
टिप्पणीहरू