प्रभु साहले अदालतको अवहेलना गरेको मेयरको दाबी

प्रभु साहले अदालतको अवहेलना गरेको मेयरको दाबी

पूर्वमन्त्री समेत रहेका आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले अदालतको अवहेलना गरेको भन्दै नगरपालिकाका मेयर अदालत पुगेका छन् । रौतहटको बोधिमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादवले साहविरुद्ध अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने माग गर्दै अदालत गुहारेका हुन् ।

साहले केही दिनअघि सामाजिक सञ्जालमा ‘रौतहटका न्यायाधीश नेताका झोले कार्यकर्ता’ भनेर टिप्पणी गरेका थिए । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेताहरुको झोले न्यायाधीशले रौतहट बदनाम एवम् अस्तव्यस्त भयो । बेईमान एवम् अयोग्य न्यायाधीशहरूलाई छानबिनको दायरामा ल्याउन म सम्माननीय प्रधानन्यायाधीशज्यूको विशेष ध्यानाकर्षण गराउँछु ।’

साहको उक्त स्टाटसले अदालतको अवहेलना भएको र न्यायाधीशको अपमान गरेको भन्दै मेयर यादव जिल्ला अदालत रौतहट पुगेका हुन् । अदालतका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार मुद्दा दर्ता भइसकेको छैन । मुद्दा दर्ता सम्बन्धमा शुक्रबारदेखि छलफल भइरहेको बताए । अगाडि भने, ‘उहाँ अस्ति मुद्दा दर्ता गर्न अदालत आउनुभएको हो । अहिले मुद्दा दर्ता गर्ने कि नगर्ने ? भन्नेबारे छलफल भइरहेको छ । छलफलपछि मात्रै निर्णय हुनेछ ।’
 

टिप्पणीहरू