सरकार दमनको बाटोमा अघि बढेको माओवादीको ठहर
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकार दमन र निरकुंशको बाटोमा अघि बढेको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा पाथीभरा घटना स्मरण गर्दे उनले त्यसो भनेका हुन् । ‘संवाद, वार्ता र छलफलबाट हल हुने विषयमा सरकारले दमन प्रयोग गर्यो’, पाण्डेले भने, ‘पाथीभराको विषयलाई शान्तिपूर्ण वार्ताबाट समाधान गर्न सकिन्छ, तर सरकारले विवेक गुमाएर निरकुंश बाटो अपनाएको आभास भइरहेको छ ।’
सचेतक पाण्डेले अध्यादेश ल्याउने कानुनी व्यवस्था भए पनि सरकारले गलत प्रक्रियाबाट जारी गरेको पनि बताए ।
‘संविधानको व्यवस्था अनुसार आकस्मिक अवस्थामा अध्यादेश ल्याउन सकिन्छ । तर संसदको समितिमा छलफलमै रहेको बेला, फिर्ता नलिइकन, प्रक्रिया पुरा गरेर जुन ढंगले अध्यादेश लयाएको छ, त्यो गलत छ । बरु छलफल गरिरहेका ती समितिलाई छिटो गर्नुस् भनेको भए विधयेक ल्याउन छिटो पनि हुन्थ्यो’, उनले थपे ।
संसद अधिवेशन ढिलो आह्वान गरिएको जनाउँदै पाण्डेले ३१ वटा विधेयक कहिले पास गर्ने हो ? भनेर प्रश्न पनि गरेका छन् ।
टिप्पणीहरू