धराने मेयरको सुझाव : जिब्रो, कलम र क्यामरा चलाउँदा ध्यान दिनू
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफूले पत्रकारलाई धम्काएको प्रमाणित गर्न नेपाल पत्रकार महासंघलाई चूनौती दिएका छन् । कहाँ, कति बजे, कुन मिडियामा के कसरी धम्की दिइएको हो ? भन्दै प्रमाणित गर्न आग्रह गरेका छन् ।
धरानमा चलिरहेको खानेपानी अभियान र श्रमदान पार्क निर्माणमा भएको अनियमितताबारे केही समयअघि समाचार लेखेको निहुँमा खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाललाई तथानाम गालीगलौज र धम्की दिएपछि महासंघकी अध्यक्ष निर्मला शर्मासहितको टोलीले हिजो गृहमन्त्री रमेश लेखकलाई भेटेर मेयर साम्पाङलाई कारबाही गर्नुपर्ने माग राखेको थियो ।
त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै साम्पाङले आफूमाथि मिथ्या आरोप लगाइएको उल्लेख गर्दै भनेका छन्, ‘पत्रकारलाई धम्की दिएको भन्ने कुरा अनर्गल प्रचार गर्ने पत्रकार महासंघलाई मेरो चूनौती छ । कहाँ, कति बजे, कुन मिडियामा, के कसरी धम्की दिएको हो सो प्रमाणित गरिदिन चूनौती दिन्छु ।’
देशको माया बोकेर जनताको सेवा र सुविधाका लागि आफूलाई समर्पित गर्ने, खोलाखोल्सी, डाँडा काँडा, झोर जंगल, भीरपाखा, घामपानी, जाडो, चिसो नभनी निर्जीव औजारसरि देश र जनताका निम्ति घोटिने आफूलाई निरंकुश बनेको आरोप लगाएकोमा उनले चित्त दुखाएका छन् ।
‘प्रेस स्वतन्त्रताको नाममा जसले जसलाई पनि जथाभावी आरोप लगाउन मिल्दैन । आरोप पुष्टि गरेर समाजमा ल्याउन सकिन्न भने कसैको चरित्र हत्या गर्ने नियतले राजनीतिक पक्षधरता लिएर कसैले पनि जिब्रो, कलम या क्यामेरा चलाउनु हुँदैन,’ विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू