प्रधानमन्त्रीका निम्ति बढाइयो सुरक्षा फौज

केटी चढाउन खोज्नेलाई सोझै केन्द्रीय कमिटी

प्रधानमन्त्रीका निम्ति बढाइयो सुरक्षा फौज
सुन्नुहोस्

एमालेले सरकार र पार्टी नेतृत्वविरूद्ध षड्यन्त्र र घेराबन्दी भएको निचोड निकाल्दै सामाजिक सञ्जालबाट त्यसको संगठित प्रतिवाद गर्ने नीति लिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बचाऊमा बोल्न नेता–कार्यकर्तालाई धेरैचोटि निर्देशन पनि दिनुभयो । तर, उहाँलाई ‘बा’ भनेरै राजनीतिमा तरक्की गरेका नेता–कार्यकर्ताले समेत फेसबुकमा लेख्न जाँगर नचलाउँदा ‘प्रतिवाद नीति’ अलपत्र परेको देखिन्छ । 

वामपन्थी सरकार ढालेर कांग्रेसको समर्थनमा चौथो पटक सरकारको नेतृत्व गरिरहेका ओलीको लोकप्रियता क्रमशः ओरालो लागिरहेको छ । सडकदेखि समाजिक सञ्जालसम्म सरकारविरुद्ध जनआक्रोश बढ्दो छ । यसबीच टुँडिखेल, दशरथ रंगाशाला र दरबार मार्गमा युवाहरूले मूर्दावादको नारासमेत लगाएका छन् । देशभित्र मात्र होइन, संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बेला गैरआवासीय नेपालीले समेत हाहु गरे । सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्नुपर्नेसम्मको परिस्थिति बन्यो । 

जनस्तरबाट उठेका असन्तुष्टि संबोधन गर्न सरकारको पर्फमेन्स बढाउनुपर्नेमा प्रधानमन्त्री ओली र एमाले नेताहरू भने प्रतिवादको नीतिमा छन् । कार्यकर्तालाई सरकार र नेतृत्वको प्रतिरक्षामा खटाउने केन्द्रीय कमिटी बैठकले निर्णय नै गरेको छ । यसका बाबजुद कार्यकर्तापंक्ति बचाउमा नउत्रनुको कारण के होला ? एमालेमा दुईथरी कार्यकर्ता छन् । व्यक्तिभन्दा विचारलाई केन्द्रमा राखेर आफ्नै बलबुतामा स्थापित एकथरी इमान्दार कार्यकर्ता छन् । वैचारिक बहसमा रमाउने यिनीहरूले अध्यक्षको बचाउमा बोल्न र लेख्न सकेका छैनन् । 

अध्यक्ष ओलीलाई ‘बा’ भनेर टाउको झुकाएकै कारण राजनीतिको कक्षा उक्लिएकाहरूको अर्को ठूलो समूह छ । यिनीहरू अधिकांश अनेक बदमासीमा मुछिएका छन् । ‘बा’ को आड–भरोशामा ‘सुनपानी छर्किएर चोख्याइए’ पनि स्वयं बदनामीको भारी बोकिरहेका यिनीहरू सञ्जालमा ओलीको पक्षमा लेख्दा आफैँमाथि आक्रमण हुने भएकाले ‘तैं चुप, मै चुप’ को अवस्थामा छन् । जसका कारण ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत भैरहेको विरोधमा प्रतिवाद गर्न एमालेमा कार्यकर्ताको खडेरी लागेको हो । 

त्यसो त, कार्यकर्तालाई सञ्जालमा स्टाटस लेख्न निर्देशन दिनु आफैँमा राजनीतिक निर्णय होइन । नेतृत्वप्रति विश्वास हुँदा कार्यकर्ताले स्वतस्फुर्तरूपमा गर्ने काम हो यो । तर, हिजो ‘बा’ भन्नेदेखि ओलीबाट लाभान्वित तप्का कडिकडाउ निर्देशन हुँदा पनि चुपचाप बस्नुले भने ठूलो असन्तुष्टिको संकेत गर्छ । ओलीले निर्देशन गरेको गर्‍यै गर्नुपरेको छ तर परिणाम छैन । एमालेजस्तो पार्टीमा यो अवस्था किन ? एक पदाधिकारीको बुझाई छ– ओलीको समर्थनमा कमेन्ट गर्नेबित्तिकै भरमार गाली आउँछ । ‘बा’को बचाउ गर्दा आफनो चरित्र एक्स्पोज हुने भएकाले प्रतिवाद गर्न नसकेका हुन् ।’

‘केपी ओली आफ्नो कुरा एक्स्पोज भएकोमा डराएका छन्, कार्यकर्ता उनको प्रोटेक्सन गर्दा आफू बदनाम हुने भयमा देखिन्छन्’, उनको ठहर छ, ‘उनीहरूलाई थाहा छ, नलेख्दासम्म कसैले काउण्टर गर्दैन । जब उनीहरू केही लेख्छन् आक्रमण शुरु भैहाल्छ ।’ 

पार्टी केन्द्रीय सदस्य सञ्जीव झाले हालै एउटा कार्यक्रममा साइबर सेनाको ‘इन्फ्रान्ट्री’ अर्थात् लडाकूका रूपमा प्रस्तुत गर्दै आफूसहित महेश बस्नेत, ऐन महर, सुनिता बरालविरुद्ध भएका प्रहारको पार्टीपंक्तिले प्रतिवाद नगरेको गुनासो गरे । आफूलाई भारतीय दूतावासको भित्रीया दावी गर्दै आएका उनी आफैँ एकपछि अर्को काण्डमा मुछिंदै आएका पात्र हुन् । पोलिटब्युरो सदस्य कर्ण थापा युवा संघको इञ्चार्ज भएका बेला झाले जनकपुरमा गरेको भेटघाटको एउटा सन्दर्भ उनै पदाधिकारीले यसरी सुनाए– दाइलाई भेट्नुपर्‍यो भनेर हत्ते गरेपछि कर्णले काठमाडौँमा भेटेछन् । आफू इण्डियन एम्बेसीसँग नजिक रहेको र त्यहाँका मान्छेलाई धेरै थोक मिलाइदिने गरेको भन्दै भन्दै दाइलाई पनि चाहिने भए मिलाउँछु भनेछन् । कर्णले मसँग त भनिहाल्यौ, आइन्दा अरुसँग त्यस्तो कुरा नगर्नू भनी हप्काएर पठाएछन् ।

साइबर सेनाका अर्का ‘लडाकू’ पूर्वमन्त्रीसमेत रहेका महेश बस्नेतमाथि पनि चरित्रको बात लागेको छ । युवासंघकै केन्द्रीय सदस्यसँग अवैध सम्बन्ध राखेको आरोपमा मुद्दा–मामिलासमेत खेपेका उनको पृष्ठभूमि पनि विवादित छ । बस्नेतमाथि कारबाहीको माग गर्दै महिलाले पार्टीमा उजुर गरे पनि एमालेले छानविनसमेत गरेन । घटना त्यसै साममुम पारियो । केटीकाण्ड लागेका अर्का केन्द्रीय सदस्य ऐन महर केही महिना पार्टीबाट निलम्बनमा परेका थिए । अनेरास्ववियुको पूर्वअध्यक्षसमेत रहेका उनको निलम्बन अध्यक्ष ओलीको चाहनामा पछि फुकुवा गरियो । अहिले उनी निर्वाध राजनीतिमा सक्रिय रहँदा यौन शोषणमा परेको भनिएकी महिला न्याय खोज्दै अड्डा–अदालत धाइरहेकी छन् । 

सुनिता बरालको चुम्बनवाला फोटो काण्डमा पनि कम्युनिष्ट पार्टीको फलामे अनुशासन काम लागेन । अध्यक्ष ओलीलाई ‘बा’ भनेर टाउको निहुर्‍याएकै कारण जुनियर भैकन प्रतिनिधिसभामा सचेतक रहेकी उनले ‘अर्कै प्रसंगमा म्वाई खाएको’ भनी स्पष्टीकरण दिएपछि चोख्याइएको हो । आफूलाई जन्मदिने बालाई उस्तै परे मुक्का हान्नेहरू ओलीलाई बा भन्दै हातमा ढोग्न किन जान्छन् ? राजनीतिक कारणले बा भन्न गएको हैन भन्ने कुरा उनीहरूले ओलीको बचाउमा उत्रिने आँट नगरेबाटै प्रष्ट हुन्छ । 

जति चिच्याए पनि कार्यकर्ताले प्रतिवाद नगरेपछि प्रधानमन्त्री ओलीलाई सेनाको सुरक्षा घेराभित्र पार्टीको बैठक राख्नुपर्ने बाध्यता बनेको छ । खुल्ला सभा सम्मेलन सामान्यतयाः निजी सुरक्षा गार्ड पछाडि उभिनेसम्म चलन हो । तर, हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकको भित्री कोठामा समेत नेपाली सेनाको विशेष तालिमप्राप्त कमाण्डो खटाइएको थियो । गनप्रुफ झोला बोकेका १५ जना कमाण्डोले बैठक हल छिर्ने गेटमा पहरा दिएका थिए । सचिवालय बैठकका बेला भने उनीहरू मुख्य द्वारमा तैनाथ हुन्थे । 

बताइएअनुसार प्रधानमन्त्री ओलीको सुरक्षामा फौजको संख्या पनि ह्वात्तै बढाइएको छ । प्रधानमन्त्री सहभागी कार्यक्रममा पहिलाभन्दा तीनगुणा बढी सुरक्षाकर्मी परिचालित हुने गरेका छन् । केन्द्रीय कमिटी बैठक चलिरहँदा च्यासलमा बर्दी र सादा पोशाकका सुरक्षाकर्मी छप्पकै देखिएका थिए । पार्टी अफिसमा समेत डेढ सय सुरक्षाकर्मीको घेरामा आउनुपर्ने अवस्थाले राम्रो संकेत गरेको छैन ।

टिप्पणीहरू