मकवानपुरको राक्सिराङ्गमा चार दिन बिदा

मकवानपुरको राक्सिराङ्गमा चार दिन बिदा

मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा गाउँपालिकाले तीन दिन सार्वजनिक बिदाको घोषणा गरेको जनाइएको छ ।

पालिका अध्यक्ष राजकुमार मल्लका अनुसार माघ १६, १७ र १८ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ । उक्त दिन पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संघसंस्था एवं बैंक, वित्तिय संस्था बन्द हुनेछन् । 

‘तामाङ समुदायको बहुल्यता रहेको यस गाउँपालिकामा हर्षोल्लासपूर्वक ल्होछार बनाउन मिति २०८१ माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएकोले उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संघसंस्था एवं बैंक तथा वित्तिय संस्थाहरु बन्द रहने जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ । 

तामाङ समुदायले नयाँ वर्षको रुपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार पर्व मनाउँछन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गर्दछन् ।

माघ १६ र १७ गते संघीय सरकारले क्रमशः शहीद दिवस र सोनम ल्होसारको अवसरमा राष्ट्रिय बिदाको घोषणा गरिसकेको छ । पालिकाले १८ गते पनि बिदा दिएपछि १९ गते शनिबार परेकाले लगातार चार दिन बिदा हुने भएको हो ।

टिप्पणीहरू