गुप्तचरका नयाँ एसएसपी नयाँ दिल्लीमा
राष्ट्रिय अनुसन्धान विभागमा आज ठूलै लटको सरुवा गरिएको छ । सँधै चढ्ने सरकारी गाडीसमेत प्रयोग नगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका विभागीय प्रमुख हुतराज थापा वरिष्ठ अधिकृतहरु एसएसपी दर्जाको सरुवा गराएर निस्केका छन् ।
प्रधानमन्त्री कार्यालयका सुशासन हेर्ने सचिव कृष्णहरि पुष्करले सरुवाको सिफारिसमा तोक लगाएको बुझिएको छ । जसअनुसार सुदूरपश्चिमका निमित्त प्रमुख एसएसपी नवीन अधिकारीलाई नयाँ दिल्लीस्थित नेपाली राजदूतावास मा काउन्सिलर बनाएर पठाउन लागिएको छ । त्यहाँका राजन उप्रेती विभागमा तानिएका छन् ।
सम्भवतः डिआइजीको बार्गेनिङका आधारमा सरुवा भएको हुनसक्ने कतिपयको बुझाई छ । वरिष्ठताको आधारमा नवीन अगाडि र राजन पछाडि छन् । ‘नवीनको दिल्ली पोष्टिङबारे अनेक हल्ला चलेको छ,’ स्रोत भन्छ, ‘अन्यथा पालोमा नयाँ दिल्ली जानुपर्ने अरु नै थिए ।’
दिल्ली जाने दावेदारमध्ये ललितपुरका भूमि पाठक पहिलो नम्बरमा,दोस्रोमा काठमाडौं एअरपोर्टमा कार्यरत पप्पु शर्मा र सुरक्षा परिषदको सचिवालयमा रहेका रमेशचन्द्र यादव थिए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारलगायतको ग्रिन सिग्नलबिना उक्त सरुवा हुनै नसक्ने गृहसचिव गोकर्णमुनि दवाडीको ठहर छ ।
टिप्पणीहरू