रविको समर्थनमा कांग्रेस नेताको सांकेतिक स्टाटस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउँदै गए कुनै पनि नेता पनि बाँकी नरहने बताएका छन् ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको समेत अभियोग लगाएर मुद्दा दायर गरिएकोप्रति घुमाउरो असन्तुष्टि जनाउँदै उनले यस्तो टिप्पणी गरेका हुन् । सम्पत्ति शुद्धिकरणको कसूरमा जसको जहाँबाट पनि मुद्दा चलाउँदा कोही बाँकी नरहने भन्दै भण्डारीले हतारमा प्रतिक्रिया नजनाउन सुझावसमेत दिएका छन् ।
‘सम्पत्ति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? बुझ्ने कोसिस गर’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिक्रियामा रमाउने साथीहरूले हतार नगरौँ कि ! सत्यलाई सत्य थाहा हुन्छ ।’
सहकारी काण्डमा काँग्रेसको माग बमोजिम गठित संसदीय विशेष समितिको सिफारिसबमोजिम लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा मुद्दा दर्ता भएको छ । अदालतमा थुनछेक बहस चलिरहँदा कांग्रेस नेताको यस्तो प्रतिक्रिया आएको हो ।
टिप्पणीहरू