चौधरीका हावा दाबी, अझै उनै हावी

चौधरीका हावा दाबी, अझै उनै हावी
सुन्नुहोस्

कांग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीले मंसिर लागेपछि सामाजिक सञ्जालमा नयाँ हल्ला पिटाएका छन् । मुलुकको कूल राजश्व संकलनमा गत आर्थिक वर्ष २ प्रतिशत योगदान गरेको गफ दिँदै आफूलाई सबैभन्दा बढी कर तिर्ने दाबी गरेका चौधरीले उच्च १० भित्र परेको आफ्नो व्यावसायिक संस्था सिजी ग्रुपलाई पहिलो भनेर डंका पिटाएकोमा जग हाँसेको छ । आन्तरिक राजश्व विभागका एक जना अधिकृतले भने, ‘टप १० भित्र पर्छन् तर पहिलो होइनन् । सबैभन्दा बढी कर तिर्ने अरु नै छन् ।’ मंसिर ७ गते आयोजित कर दिवसको अवसरमा नेपाल टेलिकमलाई संस्थागततर्फ र विजयबहादुर शाहलाई व्यक्तिगततर्फ आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी कर तिरेबापत सम्मान गरिएको थियो । शाह जावलाखेल डिष्टिलरीका मालिक हुन् भने होटल हायात र जलविद्युतमा पनि उनको लगानी छ ।

विभागले विभिन्न क्षेत्र तोकेर धेरै कर बुझाउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने क्रममा पर्यटनतर्फ तारागाउँ रिजेन्सी होटल, सामान र व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, ऊर्जा क्षेत्रतर्फ भोटेकोशी पावर कम्पनीलाई सम्मान गरेको थियो । त्यसैगरी होङ्सी सिमेन्ट, डाबर नेपाल, पतञ्जली, लुम्बिनी मेडिकल कलेजलगायतलाई पनि उच्च कर बुझाएको भन्दै सम्मान गरियो । तर, विनोद चौधरी र चौधरी ग्रुप ‘न भूतो, न वर्तमान’ भने सबैभन्दा धेरै कर बुझाउनेमा सम्मानित भएकै छैनन् । उनले नेपालमा कमाएको रकमसमेत अनेक बहानामा विदेश लैजान्छन् भने बाहिरबाट सुको भित्र्याएका छैनन् । तर, एक मात्र डलर अर्बपतिको हैसियतमा आफ्नो काम तमाम गर्न उनलाई केहीले पनि छेकेको छैन ।

चौधरीले लाज पचाएर सामाजिक सञ्जालमा गरेको गलत हल्लाबारे विभागका उनै राजश्व अधिकृतले दुःखेसो पोख्दै भने, ‘जति फटाहा बोले पनि राज्यले के गर्नु, सबै उसको गोजीमा छन् । जे भन्दा पनि भएकै छ । राज्यले दिँदै नदिएको हैसियत उनले ओगट्ने हैसियत कहाँबाट पाए ?’ नेपालले हालसम्म विदेशमा लगानीका लागि पुँजी खुल्ला गरेको छैन । यसकारण घुम्न, पढ्न र स्वीकृति लिइएका विषयमा तोकिएको रकम मात्रै बाहिर लैजान पाइन्छ । चौधरीले नबिल बैंकको वार्षिक करोडौं डलर लाभांशको रूपमा एनबी इन्टरनेशनलको नामबाट ढाका ओसार्दै आएको साढे दुई दशक नाघेको छ । 

सानातिनालाई सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धानको लफडा लागे पनि चौधरीलाई भने त्यसबाट सँधै बाहिर पारिएको छ । राजश्व कम तिरे पनि सामाजिक सञ्जाल र पोषित सञ्चार माध्यममार्फत गरिएको प्रचारलाई उनले पिआर बढाउन प्रयोग गरेको बताइन्छ । विश्वका धनाढ्यहरूको सूची तयार पार्ने फोब्र्सलगायत म्यागेजिनले यस्ता हल्लालाई पनि रिफरेन्समा लिने गरेको अवस्था छ । 
 

टिप्पणीहरू