उपनिर्वाचन सकिँदा पनि व्यासबारे अलमल

उपनिर्वाचन सकिँदा पनि व्यासबारे अलमल

स्थानीय तह उपनिर्वाचनको मतपरिणाम धमाधम घोषणा भई विजय र्‍याली र हर्षोल्लास चलिरहेका बेला तनहुँ व्यास नगरपालिकामा भने दुई वर्षदेखि थाती रहेको हारजितको मुद्दा बल्झेको बल्झ्यै छ । 

पुनः मतगणना विवाद अदालतमा अल्झिएका कारण अझै हारजितको छिनोफानो हुन सकेको छैन । पोखरा उच्च अदालतका दुई न्यायाधीश संलग्न इजलासले पुनः मतगणना गर्न दिएको आदेश कार्यान्वयन रोक्न उच्चकै रजिस्ट्रारले आदेश दिएपछि विवाद सर्वोच्चमा पुगेको छ । तत्कालीन रजिष्ट्रार अच्युतप्रसाद कुइँकेलले इजलासको आदेश कार्यान्वयन रोक्न आदेश दिएपछि सर्वोच्चमा रिट दर्ता गरेको हो । 

न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेलको संयुक्त इजलासले  जेठ १ गते व्यासका हकमा पुनः मतगणनाको आदेश दिएको थियो । २०७९ वैशाखमा सम्पन्न निर्वाचनमा मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुनः मतगणनाको माग राखेर निवेदन दिएका थिए । उनी पूर्वमन्त्री एवं कांग्रेसका सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन् । उच्चले निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर अध्ययन गर्दा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको ठहर भई असार २ गतेका लागि दिनै तोकेर बिहान १० बजेदेखि पुनः मतगणनाको आदेश दिइएको थियो । 

हाल नेपाली कांग्रेसका वैकुण्ठ न्यौपाने आफू नै नगर प्रमुखमा विजयी भएको दाबी गर्दै कुर्सीमा आसीन छन् । उच्चले पुनः मतगणनाको आदेश जारी गरेपछि न्यौपाने रोक्न माग राखेर सर्वोच्च पुगेको र सर्वोच्चमा मुद्दा विचाराधीन रहेको देखाएर उच्च अदालतमा पनि अर्को निवेदन दिएका थिए । उनको निवेदनमा उच्च अदालतका न्यायाधीशद्वय मिलनकुमार राई र अमृतकुमार बस्नेतको संयुक्त इजलासले ठोस राय नदिएर ‘आवश्यक निकासा दिनू’ भन्दै रजिष्ट्रारलाई अर्को आदेश दिएको अवस्था छ । त्यो आदेशपछि तत्कालीन रजिष्ट्रार कुइँकेलले पुनः मतगणनाको तयारी स्थगित गर्न प्रशासनिक आदेश जारी गरेका छन् । न्यौपानेको निवेदनमा सर्वोच्चबाट मतगणना रोक्न अन्तरिम आदेश भएको देखिँदैन ।

यसरी व्यासको विवाद उच्चकै दुईवटा इजलासको चेपुवामा फसेर यता न उताको स्थितिमा पुगेपछि अघिल्लो आदेश कार्यान्वयन गर्न रजिष्ट्रारले रोकावट गरेको भन्दै जोशी पनि अर्को निवेदन लिएर सर्वोच्च पुग्दा त्यो निवेदनमा गत कात्तिक ५ गते रजिष्ट्रार विमल पौडेलले दरपीठ आदेश ठोकिदिएका छन् । रिट दर्ता गर्न अस्वीकार गर्दै भएको दरपीठको आदेश उल्ट्याउन जोशीले फेरि अर्को निवेदन हालेको र सोउपर सुनुवाई हुँदा न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले रिट दर्ता भई हाल विचाराधीन छ । अब उच्चको आदेश सर्वोच्चबाटै निप्टारा नभएसम्म व्यासको मतगणना विवाद थाती रहनेछ । 

निर्वाचन आयोगले जोशी न्यौपानेसँग २ सय ५२ मत अन्तरले पराजित भएको घोषणा गरेको थियो । निर्वाचन आयोगका अनुसार न्यौपानेले मेयरमा १२ हजार ७८ मत पाएका थिए भने जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए ।
 

टिप्पणीहरू