केपी ओलीद्वारा छेउमै राखेर गोकुल बाँस्कोटाको चर्को आलोचना

केपी ओलीद्वारा छेउमै राखेर गोकुल बाँस्कोटाको चर्को आलोचना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफ्नै क्याबिनेटमा मन्त्री रहेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाको नाम उच्चारण नगरी असन्तुष्टि पोख्नुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा हिजो एकघण्टा भाषण गर्दै उहाँले पार्टीभित्र बढ्दै गएको गलत प्रवृत्तिप्रति झण्डै २५ मीनेट खर्चनुभएको बताइन्छ । 

बुटवल महाधिवेशनमा देखिएको नेताहरुको अस्वस्थ प्रतिस्पर्धापछि कार्यकर्ताहरुले रातो आँखा पारेको जनाउँदै अध्यक्ष ओलीले घुमाउरो तरिकाले बाँस्कोटालाई कार्यकर्ता नतर्साउन चेतावनी दिनुभएको हो । कार्यकर्तालाई दास सम्झने,गाली गर्ने,हेप्ने,तर्साउने, रपार्टी छाडेर जा भन्ने,प्रतिनिधि ल्याउँदा पनि एक्लौटी गर्ने,नेतृत्वमा हस्तक्षेप गर्ने भन्दै उहाँले तीतो पोख्नुभएको थियो । 

सिन्धुपाल्चोक इन्चार्ज बाँस्कोटा हालका सचिव राजन भुर्तेललाई अध्यक्षमा अघि सार्दै बागमती प्रदेशमा उपसचिवमा पराजित रिता ढकाललाई पदाधिकारीमा सर्वसम्मत बनाउने प्रयत्नमा देखिन्छन् । भाषणपछि धुलिखेल रिसोर्टमा परिवारसहित खाजा खाएर फर्कनुभएका अध्यक्षलाई भेट्न बाँस्कोटा नगएको सन्दर्भलाई पनि धेरैले अचम्मसङ्ग लिएका छन् ।

कार्यकर्तालाई दास सम्झने,गाली गर्ने,हेप्ने,तर्साउने, रपार्टी छाडेर जा भन्ने,प्रतिनिधि ल्याउँदा पनि एक्लौटी गर्ने,नेतृत्वमा हस्तक्षेप गर्ने भन्दै उहाँले तीतो पोख्नुभएको थियो ।

अध्यक्ष ओलीले सम्बोधनमा,‘जसरी भैँसीमा भएको किर्ना अघाएपछि झर्छ,त्यसरी नै एमालेमा रहेर अघाएकाहरु किर्ना झैं बाहिरिएका छन्’भन्नुभएको थियो । एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशनको धुलिखेलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले मिसन ८४ लाई सशक्त बनाउन पार्टीका सबै पंक्तिलाई एकजुट हुन निर्देशन दिनुभएको छ । 

‘अरुले आफ्ना लागि,अस्थिरताका लागि भने होलान् मिसन ८४ । एमालेले देश विकास र निर्माणका लागि तीन तहकै सरकारमा एकल बहुमत ल्याउन भनेको हो,’अगाडि भन्नुभयो ‘अधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्नु,प्रतिस्पर्धालाई सहमतिबाट टुङ्ग्याउनु र सहमति हुन नसके प्रतिस्पर्धामा जानु, निर्वाचन सकिएपछि फेरि एकमन र एकताका साथ पार्टी कामलाई अघि बढाउनू ।’

बन्द सत्रमा जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले पार्टीको राजनीतिक, संगठनात्मक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्ष मण्डलका अध्यक्ष एवम् पोलिटब्युरो सदस्य तथा जिल्ला इन्जार्च कृष्ण राईको अध्यक्षतामा शुरु भएको बन्द सत्रमा नेताहरुले धारणा राखेका छन् । अध्यक्ष मण्डलमा बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्यद्वय नवीना लामा र कपिलदेव पोखरेल,प्रदेश कमिटी उपाध्यक्ष धावा दोर्जे लामा छन् । 

डिजिटल मेसिन १० वटाबाट मतदानको तयारी गरिएको जानकारी दिइएको छ । छ सय ९२ प्रतिनिधिले मतदानमा भाग लिँदैछन् । २०८० चैत्र मसान्तसम्म १३ हजार तीन सय नौ जनाले सदस्यता नवीकरण गराएका छन् । विगतको अधिवेशनमा दुलही झैं सिङ्गारिने धुलिखेल अहिले एमालेको यति ठूलो पर्वका वावजुद शान्तप्राय: देखिएको छ ।

टिप्पणीहरू