जताततै वैदेशिक रोजगारीको नाममा ठगी र मानव तस्करीको जालो

जताततै वैदेशिक रोजगारीको नाममा ठगी र मानव तस्करीको जालो

वैदेशिक रोजगारीको नाममा ठगीधन्दा झन् मौलाएको छ । विदेशमा आकर्षक तलब, सेवा, सुविधासहितको रोजगारीको प्रलोभन देखाउँदै आम सर्वसाधारण ठग्ने क्रम बढ्दो छ । 

मुलुकमा पर्याप्त बेरोजगारी बढेका कारण विदेशिन चाहनेलाई सोही नाममा ठग्नेहरुको बिगबिगी अचाक्ली देखिन्छ । कामको खोजीमा भौंतारिरहेका युवाहरुलाई विदेशमा मासिक लाखौं आम्दानीको रोजगारीमा लगाइदिने झुठो आश्वासन देखाएर दलालहरुले ठगिरहेका छन् । यस्तो कार्यमा गिरोह नै सक्रिय रहेको पाइएको छ । 

बेरोजगार युवायुवतीलाई वैदैशिक रोजगारीका लागि विदेश पठाइदिने आश्वासनमा ठगेको आरोपमा अस्ति तीन जनालाई प्रहरीले पक्राउ गरिएको छ । काठमाडौंको नयाँबानेश्वर बस्ने ४७ वर्षीय कलम श्रेष्ठ, महाँकालका २८ वर्षीय दुर्गा राउत र तारकेश्वर बस्ने ४० वर्षीय जितबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वैदेशिक रोजगारीमा युके, क्रोएसिया र इटाली पठाइदिने प्रलोभनमा लाखौं रकम उठाएर फरार भएका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले थप कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग पठाएको छ । 

गत आइतबार पनि सोही अभियोगमा काठमाडौंको चाबहिल बस्ने कास्कीका ४२ वर्षीय विनोद श्रेष्ठलाई प्रहरीले समातेको छ । उनले वैदेशिक रोजगारीमा टर्की पठाइदिने र त्यहाँ पुगेपछि मिसन कार्यालयको भवन निर्माणमा काम लगाइदिने प्रलोभनमा पारिएको थियो । श्रेष्ठले एक सय २४ जना व्यक्तिबाट चार करोड ३४ लाख ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

उनको साथबाट नेपाली सिमकार्ड ३५ थान, भारतीय सिमकार्ड तीन थान, विभिन्न बैंकको एटीएम कार्ड पाँच थान, चेकबुक १६ थान, मोबाइल छ थान, वाइफाइको राउटर एक थान, भारतीय आधारकार्ड र प्यान कार्ड एक÷एक थान, दिल्ली मेट्रो कार्ड एक थान, मोटरसाइकल एक थानसहित विभिन्न सामान तथा कागजात बरामद गरेको गरिएको छ ।

श्रेष्ठकी श्रीमती सुरुची भुजेल र सालो सुजन भुजेल पनि ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाएको छ । उनीहरुमाथि अनुसन्धान जारी छ । 

यसअघि गत वैशाख २८ गते वैदेशिक रोजगारमा विभिन्न मुलुक पठाइदिने नाममा ठगेको आरोपमा चार जना पक्राउ परेका थिए । काठमाडौंको बौद्ध बस्ने मकवानपुरकी ३० वर्षीया निमा रिन्जिन, गोकर्णेश्वर बस्ने रामेछापकी ३४ वर्षीया चन्द्रमाया थापा कार्की, र ललितपुरको इमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य र ५६ वर्षीया कल्पना बज्राचार्यलाई प्रहरीले पक्रेको थियो । 

उनीहरुले बेलायत, स्पेन र क्यानडा पठाइदिने आश्वासनमा ठगेका थिए । निमाले बेलायतमा आकर्षक रोजगारीको प्रलोभनमा साढे ५६ लाख, चन्द्रमायाले स्पेन पठाइदिने आश्वासनमा दुई लाख र प्रकाश र कल्पनाले क्यानडाको सपना देखाएर पीडितहरुबाट १५÷१५ लाख ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई पनि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको  टोलीले वैदेशिक रोजगार विभागमा बुझाएको हो । 

अमेरिका, क्यानडाको सपना र मानव तस्करी 

वैदेशिक रोजगारीका लागि अमेरिका, क्यानडालगायत विकसिक मुलुक पठाइदिने प्रलोभनमा करोडौं रकम ठगीसँगै मानव तस्करी गरिएकोसमेत खुलासा भएको छ । ग्रामीण भेगका सोझा मानिसलाई अवैध बाटो हुँदै अमेरिका, क्यानडा पुर्याउने सपना देखाएर ठगीसँगै महिनौंसम्म विदेशमा अलपत्र पारेको वा बन्धक बनाएको पाइएको हो । 

उक्त कार्यमा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राजधानीको विभिन्न स्थानमा बस्दै आएका सिन्धुपाल्चोकका ४७ वर्षीय टासी शेर्पा, ४२ वर्षीय ङिमबुटी शेर्पा र १९ वर्षीया निमा शेर्पा, ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँका ४८ वर्षीय जंगबहादुर विक र ४६ वर्षीय विष्णुबहादुर बराली छन् ।  

उनीहरुले अमेरिका जान प्रतिव्यक्ति ४० देखि ५० लाख र क्यानडाको लागि प्रतिव्यक्ति २२ देखि ३० लाखसम्म लिएको तथ्य खुलेको छ । यसरी १० जना पीडितबाट साढे पाँच करोड रुपैयाँ ठगेको प्रमाण भेटिएको छ । भारतको नयाँ दिल्लीस्थित होटलबाट संगठित रुपमा उनीहरुले मानव तस्करी र ठगी गर्दै आएको पनि खुलेको छ ।

उनीहरुले अमेरिका, क्यानडा लैजान दुबई ट्रान्जिट बनाई केन्या र युगान्डा पुर्याउने गरेका थिए । त्यहाँ पुगेपछि एजेन्टमार्फत पासपोर्ट र सबै विदेशी मुद्रा खोसेर नौ महिनासम्म बन्धक बनाएको पीडितहरुले प्रहरीसमक्ष बताएका हुन् । 

पासपोर्ट पाएपछि पीडितहरु आफ्नो घरपरिवारसँग सम्पर्क गरेर आफ्नै खर्चमा हवाई टिकट र त्यहाँ बस्दा लागेको खर्च तिरेर नेपाल फर्किएका थिए । पक्राउ परेका छ जनामाथि हाल जिल्ला प्रहरी परिसर, काठमाडौंले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विभागमा उजुरीको चाङ

विदेश पठाइदिने नाममा ठगी बढिरहेको वैदेशिक रोजगार विभागकै तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को वैशाख मसान्तसम्म ११ हजार ७६२ वटा उजुरी विभागमा परेको छ । तीमध्ये एक हजार ५८० उजुरी वैशाखमा मात्र परेको हो ।

विभागका निर्देशक गुरुदत्त सुवेदी वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने प्रलोभनमा ठगी कार्य हवात्तै बढेको बताउँछन् । पहिला खाडी मुलुकमा रोजगारीको आश्वासनमा ठग्ने गरिएकोमा अहिले विकसित मुलुकमा पठाइदिने भन्दै ठग्न थालिएको उनको भनाइ छ । 

विभागमा दैनिक सयौंको संख्यामा ठगीको गुनासो लिएर पीडितहरु आउने गरेको समेत उनले बताए । निर्देशक सुवेदीले भने, ‘आकर्षक तलबमा विदेश पठाइदिने प्रलोभनमा ठगिएको गुनासो लिँदै दिनहुँ पीडितहरु आउँछन् । दैनिक सयौंको संख्यामा विभागमा उजुरी दर्ता हुने गरेको छ ।’

विकसित मुलुक देखाउँदै आर्थिक ठगी 

वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने प्रलोभनमा ठगीधन्दा मौलाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ । मन्त्रालयले केही दिनअघि विज्ञप्ति जारी गर्दै विदेश पठाइदिने नाममा बढ्दै गइरहेको ठगीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको थियो । 

‘वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका देशहरुमा रोजगारीको अवसर छ भनी सामाजिक सञ्जालहरुमा भ्रामक सूचना प्रेषित गर्ने र आम नागरिकमा भ्रम सिर्जना गरी आर्थिक रुपमा ठगी गर्ने गरेको पाइएको छ,’ मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव गोविन्दप्रसाद रिजाल वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आवश्यक नीतिगत, कानूनी एवम् संस्थागत प्रबन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न मन्त्रालय प्रयासरत रहेको बताउँछन् । 

यस्ता गैरकानूनी कार्य नियन्त्रण गर्न मन्त्रालयअन्तर्गतका निकाय तथा सरकारका अन्य नियमनकारी निकायहरु प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले यसका लागि आम सर्वसाधारणको पनि उत्तिकै सक्रियता आवश्यक पर्ने बताए । 

ठगीबाट बच्न वैदेशिक रोजगारीमा जाने प्रक्रिया सुरु गर्नुअघि सम्बन्धित संस्था इजाजतपत्र हो कि होइन ? वैदेशिक रोजगारका लागि पूर्वस्वीकृति लिएको छ वा छैन ? भनेर वैदेशिक रोजगार विभागको वेबसाइटबाट यकिन गर्न मन्त्रालयको अनुरोध छ । त्यस्तै, बिना प्रमाण तोकिएको शुल्कभन्दा बढी रकम नबुझाउन वा बैंक खातामार्फत मात्र रकम बुझाउन समेत मन्त्रालयले आग्रह गरेको छ । 

के छ कानूनी व्यवस्था ? 

वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० मा इजाजतपत्र नलिई कसैले पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था छ । सोही ऐनको दफा ४३ मा त्यस्तो कार्य गरेमा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने उल्लेख छ । 

त्यस्तै, झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारमा लगाइदिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जानाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई पाँच लाख रुपैयाँसम्म जरिवाना र सात वर्षसम्म कैद सजाय हुने प्रावधान छ । 

तर, विदेश पठाइनसकेको भए सो सजायको आधा सजाय हुने जनाइएको छ । कडा कानूनी व्यवस्थाका बाबजुद अहिले वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने क्रम चलिरहेको छ । यस्ता गैरकानूनी कार्य सरकार र सम्बन्धित निकायले नियन्त्रण गर्न सकिरहेका छैनन् ।

टिप्पणीहरू