फिल्म प्रमोशन गर्न 'कविता कन्सर्ट'

फिल्म प्रमोशन गर्न 'कविता कन्सर्ट'

हरेक निर्माता-निर्देशकलाई आफ्नो चलचित्रले राम्रो व्यापार गरोस् भन्ने चाहना हुन्छ । त्यसकारण चलचित्र रिलिज गर्नुअघि प्रचार-प्रसारमा विशेष ध्यान दिने गरिन्छ । तर, प्रचारमा नयाँ शैली अपनाउन नसक्दा कतिपय राम्रा चलचित्रले समेत व्यापार गर्न नसकेको कटु यथार्थ नेपाली सिने क्षेत्रले भोग्दै आएको छ । 

चलचित्र प्रचारमा नयाँ शैली अपनाउनुपर्ने बहस चलिरहँदा चलचित्र 'मनसरा'को प्रमोशनका लागि निर्माण पक्षले कविता यात्रा गर्न लागेको छ । देशका विभिन्न शहरमा 'कविता कन्सर्ट' गरेर मनसराले प्रचारको नौलो अभ्यास थालनी गर्न लागेको हो । 

चलचित्रका लेखक तथा निर्देशक उपेन्द्र सुब्बा आफैँ सशक्त कवि हुन् । त्यसकारण चलचित्रको निर्माण टिम कविता कन्सर्टको यात्रामा निस्कन लागेको अनुमान गर्न सकिन्छ । जे होस्, नेपाली चलचित्रको इतिहासमा प्रचार-प्रसारको नौलो प्रयोगलाई समीक्षकहरुले पनि सकारात्मक टिप्पणी गरेको पाइन्छ । 

चलचित्र निर्माण टिमले आगामी बैशाख ६ गते बुटवलस्थित क्युएफएक्स हलबाट कविता कन्सर्ट सुरु गर्दैछ । त्यसपछि बैशाख ८ गते पोखरा, बैशाख १२ गते विर्तामोड, बैशाख १४ गते धरान र बैशाख १५ गते इटहरीमा कविता कन्सर्ट हुने निर्माण टिमले जनाएको छ । 

स्मरण रहोस्, यस चलचित्रमा प्रविण खतिवडा, मिरुना मगर, दयाहाङ राई, मेनुका प्रधान लगायतको मुख्य भूमिका छ । एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मा पाएको छ ।

टिप्पणीहरू