स्वस्तिमाको निर्माता अनुभव- पहिलो पाइला असाध्यै गह्रौँ हुँदोरहेछ !

स्वस्तिमाको निर्माता अनुभव- पहिलो पाइला असाध्यै गह्रौँ हुँदोरहेछ !
सुन्नुहोस्

म्युजिक भिडियो हुँदै चलचित्रमा डेब्यु गरेकी स्वस्तिमा खड्का अहिलेको सर्वाधिक व्यस्त अभिनेत्री हुन् । दर्जनौँ  हिट चलचित्रमा मुख्य भूमिका निभाएकी उनको लोकप्रियता उचाईमा छ ।

सफल कलाकारको रुपमा स्थापित भैसकेकी स्वस्तिमा अब भने सफल निर्माता बन्ने दौडमा छिन् । पहिलो पटक उनले लगानी गरेको चलचित्र 'बेहुली फर्म मेघौली' यतिबेला चर्चामा छ । 

चितवनमा करिब ३४ दिनको शुटिङ सकाएपछि स्वस्तिमाले आज सामाजिक सञ्जालमा एउटा भावुक स्टाटस लेख्दै निर्मात्रीको मनोभाव प्रकट गरेकी छन् । 

शुटिङको क्रममा सहयोग गर्ने सबैलाई दिएकी उनले लेखेकी छन्, 'नयाँ यात्रामा पहिलो पाइला चाल्नुअघि असंख्य प्रश्नले घेर्छन्, सफलता र असफलताको बोझले पहिलो पाइला असाध्यै गह्रौं हुँदोरहेछ । तर, जब पाइलाले गति लिन्छ, ती सबै बोझहरू हलुका लाग्न थाल्छन् ।'  

यो चलचित्रको मुख्य भूमिकामा स्वस्तिमा आफैँ छिन् भने उनका श्रीमान निश्चल बस्नेतले स्क्रीन शेयर गरेका छन् । 

'बेहुली फ्रम मेघौली'को शुटिङमा जानुअघि स्वस्तिमाले पत्रकारहरुसँग ठट्यौली शैलीमा भनेकी थिइन्, 'कलाकार हुँदा मोबाइलमा पैसा जम्मा भएको नोटिफिकेशन आउथ्यो, तर निर्माता बनेपछि बैंक खाताबाट पैसा काटेको मेसेज मात्र आउदो रहेछ!'

टिप्पणीहरू