जनप्रतिनिधिबीचकाे जुँगाको लडाइँले चितवनमा गाईजात्रा

जनप्रतिनिधिबीचकाे जुँगाको लडाइँले चितवनमा गाईजात्रा
सुन्नुहोस्

जनप्रतिनिधिहरुले जसो गर्दापनि हुन्छ ? जनताको काम गर्ने थलोलाई अनिर्णयको बन्दी बनाइरहन मिल्छ ? चितवनको राप्ती नगरपालिकाका स्थानीयको प्रश्न हो यो । जनप्रतिनिधिको झगडाले गर्दा राप्ती नगरपालिका संकटमा परेको छ । ‘जुँगाको लडाइँ’ मा महिला जनप्रतिनिधि पनि होमिएकी छन् । 

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष खुलेपनि मेयर–उपमेयरको ढोकामा ताल्चा झुण्डिएकै छ । उपमेयर बिदामा बसेपछि मेयर पनि नजिकको वडाध्यक्षलाई कार्यवाहक सुम्पिएर बिदामा बसेका छन् । उपमेयर देवेन्द्र लामा चैत १० देखि २५ गतेसम्मका लागि बिदामा बसेपछि मेयर समशेर लामा वडा नम्बर ७ की वडाध्यक्ष सुमिता डल्लाकोटीलाई कार्यवाहकको जिम्मा दिएर बिदामा बसे । 

लामा हिजो कार्यालयमा उपस्थित भएका थिए । कार्यालय आएसँगै वरीयताको विषयलाई लिएर उनको कार्यवाहक मेयरसँग ठाक्कठुक्क परेको बताइन्छ । कार्यवाहक मेयरको हैसियतमा सुमिताको अध्यक्षतामा यातायात र कृषिको दुईवटा कार्यक्रम भइसकेको छ । पूर्ण खोपको कार्यक्रम सञ्चालन गर्न लागिरहँदा त्यहाँ विवाद भएको हो । देवेन्द्रले सुमिताभन्दा मूनिको वरीयता अस्वीकार गरेका हुन् ।

रिसाएर देवेन्द्रले स्वास्थ्य शाखाको माइन्युट नै केरिदिएको बताइन्छ । मेयर नभएको अवस्थामा आफू नै कार्यवाहक मेयर हुने जिकिर गर्दै देवेन्द्र बिदा नसकिँदै नगरपालिका आउन खोजेका थिए । तर, मेयरको अनुपस्थितिमा सम्भव नभएपछि उनी पछि हटेको कर्मचारीहरुको भनाइ छ । 

मेयरले आफू ‘फर्की नआएसम्म’ उल्लेख गरेर कार्यवाहकको जिम्मेवारी सुम्पिएको भन्दै सुमिताले पछि नहट्ने अडान लिएकी छन् । ‘मै हुँ’ भन्दै उनले उपमेयरसँग रस्साकस्सी गरिरहेको नगरपालिकाका कर्मचारीहरु बताउँछन् । उपमेयरको नाम माथि लेखेर माइन्युटमा सहभागीको हस्ताक्षरका लागि बनाइएको अर्काे पानामा सुमिताले हस्ताक्षरसमेत गरिननन् । आफू तल रहेर दस्तखत नगर्ने उनको भनाइ छ ।

‘तँ भन्दा म के कम ?’ भन्दै जनप्रतिनिधिहरु एकापसमा सिँगौरी खेल्दा राप्तीको हालत दिनदिनै जर्जर हुँदै गएको छ । निषेधको राजनीति र बजेटको खिचातानीले राप्तीमा गत असोजमा बल्लतल्ल एकपटक भएको कार्यपालिकाको बैठक त्यसपछि हुन सकेको छैन । हिउँद सकिँदा पनि नगरसभा हुने कुनै सुरसार छैन । 

नभएको निहुँमा तालाबन्दी गरिएको स्थानीय बताउँछन् । ‘कहीँ नभा’को जात्रा हाँडी गाउँ’ मा भनेझैं जनप्रतिनिधिहरुले निर्वाचित भएदेखि नौटंकीको राजनीतिक द्वन्द्व देखाइरहेको स्थानीयको गुनासो छ । पछिल्लोपटक डेढ महिनादेखि प्रमुख–उपप्रमुखको कोठामा तालाबन्दी भएपनि लेखा शाखा खुल्लै छ ।

लामो समयदेखि एमालेले एकलौटी सञ्चालन गर्दै आएको ठाउँमा अहिले डाडुपन्यु अर्कैको हातमा पुगेपछि द्वन्द्व चर्केको स्थानीयको बुझाई छ । एमालेबाट विद्रोह गरेर निस्किएका मेयर समशेर सजिलै मिल्ने खालको समस्या नभएको बताउँछन् । कार्यपालिकामा बहुमतको बलमा एमाले पक्ष शुरुदेखि मेयरलाई पेलेरै जाने प्रयत्नमा छ । 

चुनावताका गठबन्धनको साथी बनेको काँग्रेससँग पनि दूरी बढेपछि नेकपा एकीकृत समाजवादीबाट निर्वाचित मेयर निकै अप्ठेरोमा छन् । उपमेयर देवेन्द्र काँग्रेसी हुन् । उनीपनि अहिले मेयरको विपक्षमा देखिन्छन् । जिल्ला सुरक्षा समितिको बैठक बसेर मेयरको सुरक्षार्थ पिएसओ नै खटाउनुपरेको स्थितिले द्वन्द्व पेचिलो बनेको हो ।

यसले राप्तीको हालत अत्यन्त नाजुक, भयावह र डावाँडोल बनेको छ । यसैबीच, नीलमकुमार न्यौपानेको सरुवा भएपछि केही दिनदेखि राप्तीकै आठौं तहका कर्मचारी शैलेन्द्र भण्डारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । यता, बिदामा रहेका मेयरले आफू भोलिबाट कार्यालय आउने बताएका छन् ।

टिप्पणीहरू