नीतिले छाडिन् हिरोको आड

नीतिले छाडिन् हिरोको आड

नेपालीमा एउटा मान्यता छ, धैर्य गर्नुपर्छ, चिताएको कुरा पूरा हुन्छ । तर नीति शाहले जति धैर्य गरे पनि सपना पूरा हुन नसकेको अर्थ लगाइएको छ । 

उनको सुन्दरतामा खोट लगाउने कुनै ठाउँ देखिँदैन । बौद्धिकताको पनि राम्रै चर्चा हुन्छ । उनी सन् २०१७ को ‘मिस नेपाल इन्टरनेसनलको’ विजेता हुन् । उक्त उपाधी हात पारेपछि नीतिलाई पत्रकारले एउटा प्रश्न सोधेका थिए, ‘तपाईं कुन हिरोको फिल्मबाट डेब्यु गर्न चाहनुहुन्छ ?’

त्यतिबेला उनको जवाफ थियो, ‘अनमोल केसी र प्रदिप खड्का ।’ नभन्दै केही समयपछि निर्देशक दिपक वलीले नीति र प्रदिपलाई लिएर ‘क्यामिनो’ घोषणा गरे । तर यो चलचित्र घोषणामै सीमित भएकाले हालसम्म बनेन । केही समयपछि निर्माता सुप्रिया कटुवालले पनि नीति र अनमोललाई लिएर चलचित्र ‘रावायण’ घोषणा गरिन् । तर ‘छड्के २.०’ फ्लप भएपछि अनमोलले चलचित्र छनोटमा अब आफू सचेत हुने भन्दै ‘रावायण’ छाडे । 

नीतिको सपनाबमोजिम दुवै अभिनेतासँग स्क्रीन सेयर गर्ने अवसर कहिल्यै जुरेन ।  उक्त अवस्था नीतिको दुर्भाग्य थियो वा संयोग मात्र, त्यो अरुले भन्ने कुरो भएन । तर यतिखेर नीतिले बुझ्दै गएको कुरो चलचित्रमा अभिनेत्रीको निम्ति सुन्दरताको अर्थ जति हुन्छ उत्तिकै अभिनय पनि ।

सोही कारण अहिले नीति चलचित्रको लागि सहायक भूमिकाका कलाकारहरुसँग पनि निसंकोच काम गर्न तयार हुँदै गएकी बताइन्छ । पछिल्लो उदाहरण हो, ‘खजुरे ब्रो’ । यसमा नीतिको नयाँ कलाकार रियर राईसँग पेयर अप रहेको बताइन्छ । 

त्यस्तै नीतिले आज अर्को चलचित्र ‘ज्वाइँ साब’ को लागि पनि साइन गरेकी छन् । मीनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहने यस चलचित्रमा नीतिसँग हाँस्य कलाकार जीतु नेपालले रोमान्स गर्ने कथा छ । यस्तै, नीतिले चलचित्र ‘रुखान’ पनि साइन गरिसकेकी छन् । 

नीतिले अब कुनै हिरोको आडमा चर्चित हुनुभन्दा पनि आफ्नै क्षमताबाट चर्चित हुने अवसर खोजिरहेको अर्थ लगाइएको छ ।

टिप्पणीहरू