पर्यटनका नाममा झन् धेरै विदेश पलायन

पर्यटनका नाममा झन् धेरै विदेश पलायन

शिक्षित युवाहरू स्थायी रूपमा देश छोडेर बाहिरिरहेका छन् । भिजिट भिसामा जाने र उतै सेटल हुने क्रम पनि बढ्दो छ । सरकारले पर्यटन (भिजिट) भिसामा विदेश जाने नेपालीका लागि नयाँ यात्रा परामर्श जारी गरेको छ । सो लागू भएको पनि दुई महिना कटिसक्यो । यो व्यवस्था लागू भएसँगै भिजिटमा जानेको संख्या २२ हजार ६२६ कटेको छ । त्यस्तै, पारिवारिक मिलनका लागि जानेको संख्या एक हजार ४१६ बढी पुगेको छ । 

पर्यटक भिसामा नेपालबाट सबैभन्दा धेरै दुबई  गएको देखिन्छ । अध्यागमन विभागका अनुसार आठ हजार १०७ जना सो अवधिमा दुबई गएका छन् । यात्रा परामर्श जारी हुनुअघि मासिक तीन हजार हाराहारीमा जाने गर्दथे । त्यस्तै, घुम्नका लागि नेपालीको दोस्रो रोजाइमा भारत परेको छ । 

सात हजार ७४९ जना पर्यटन भिसामा भारत गएका छन् । झण्डै ७५० जना रोहिंग्या शरणार्थी नेपालमा गैरकानुनी रूपमा बसिरहेको मुलुक बर्मा जाने नेपाली पनि उत्तिकै छन् । नेपालीहरू थाइल्याण्ड हुँदै त्यता जाने गरेको पाइएको छ । विकसित मुलुकमध्येमा गनिने संयुक्त राज्य अमेरिका, अष्ट्रिया र युरोपेली राष्ट्रमा समेत नेपाली उल्लेख्य संख्यामा छन् । 

पर्यटन भिसामा यहाँबाट दुबई, कुबेत, ओमन, बहराइन र कतारजस्ता खाडी देशतिर गएकाहरू त्यतैबाट तेस्रो मुलुक छिर्ने गरेको देखिएको छ । केही भने जब सेन्टरमार्फत भीसा परिवर्तन गरी तेस्रो मुलुक छिर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण रुस हो । 

रुसी फौजमा नेपाली भर्ती भएको विषयले मुलुकमा तर¨ ल्याएको छ । बेलायत र भारतबाहेक अन्य मुलुकमा नेपालबाट सैनिक भर्ना गर्न पठाउने व्यवस्था नभए पनि अवैध माध्यमबाट भर्ती भइरहेका छन् । उनीहरू दुबईको रुट प्रयोग गरेर रुस प्रवेश गरेको खुलेको छ । यस्तै अवैध कार्य गर्ने सरकारी कर्मचारीसहित ट्राभल एजेन्सीका सञ्चालकलाई केही महिनाअघि प्रहरीले पक्राउ गरेको थियो । 

पर्यटक भिसामा गएका महिलाहरू यौन शोषणको शिकार भइरहेका छन् । कुबेतस्थित नेपाली राजदूतावासले माघमा सम्पर्कमा आएका ८५० जना पीडितलाई एकतर्फी ट्राभल डकुमेण्ट बनाएर स्वदेश फिर्ता पठाएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू