एमालेबाट सिक्दै रास्वपा

एमालेबाट सिक्दै रास्वपा

‘महारानीभन्दा मुनि रानी, रानीको तल नानी, त्यसपछि छानिछानी !’ एमालेले यौनजन्य कसुरमा मुछिएका केन्द्रीय सदस्य ऐन महरलाई उन्मुक्ति दिई पुनः पदासिन गरेपछि च्यासलमा यस्तो चर्चा चल्ने गरेको छ । 

यस्तै कसुरमा पोलिटब्यूरो सदस्य महेश बस्नेत पनि मुक्त हुने भएपछि अब एमालेमा जति जना महिलासँग जस्तोसुकै सम्बन्ध राखे पनि छूट पाइने परिस्थिति बन्दै गएको देखिन्छ । एउटा सचिवालय बैठकले ऐनलाई निलम्बन गर्‍यो, महिना दिन नबित्दै अर्को बैठकले केन्द्रीय सदस्य बनाइदियो । कतै प्रश्न उठेन, उठाउन पाइने कुरा पनि भएन । अर्थात्, राणाकालीन दरबारमा ‘भर्‍याङमुनिका रानी, नानी, धाई, सुसारे’ राख्ने छूट भएझैं एमालेमा पनि त्यस्तो चलन चलाइयो भन्ने काठमाडौं जिल्ला कमिटीका पदाधिकारीहरूको ठहर छ । बझाङ, बुंगलकी रश्मिला धामीसँगको विवाहेत्तर सम्बन्धका कारण ऐन पार्टीपंक्तिमा आलोचित थिए ।

गोप्य संवाद भनी सार्वजनिक सवा २ घण्टाको अडियो आफ्नो नभएको भन्दै रश्मिलाले गत मंसिर १९ गते प्रहरीको केन्द्रीय साइबर व्युरोमा उजुरी दिएकी थिइन् । दर्ता नं. ७७५७ रहेको सोही उजुरीका आधारमा अखिल नेतृ रक्षा बम गत साता पक्राउ परिन् । उनले रश्मिलाको मोबाइल खोसेर त्यसभित्र रहेका संवेदनशील तथा महत्वपूर्ण कब्जा गरेको र पाँच लाख रुपैयाँ फिरौती मागेको आरोप लगाइएको थियो । यी सबै घटनासँग ऐन प्रकरण जोडिएको प्रहरीहरू बताउँछन् । तर, उनको पार्टीले सामान्य छानवीनसमेत नगरी एक महिनाअघि गरेको निलम्बन सहजै फुकुवा गरिदिएको छ । अब शोभा पाठकसहितका विभिन्न महिलासँग त्यस्तै सम्बन्धमा मुछिएका भक्तपुरे नेता महेश बस्नेतबारे पार्टीले कस्तो कदम चाल्ला आँकलन गर्न मुस्किल छैन । 

रश्मिला धामीले पार्टीमा बाहिर आएजस्तो कुरा नभएको भनी लिखित निवेदन दिएको र ऐनले पनि लिखित रुपमै आत्मालोचना पत्र लेखेका कारण उनको निलम्बन फुकुवा भएको एक सचिवालय सदस्यले जनआस्थालाई बताए । उक्त बैठकमा महेश बस्नेतका बारेमा कुरा उठेन । बरु, आर्थिक लेनदेनको उजुरीका आधारमा केन्द्रीय सदस्यबाट हटाइएका सिराज अहमदको पनि पद बहाली हुने सम्भावना रहेको ती नेताले बताएका छन् । ‘अर्काको घरबार बिगार्नेलाई केही नहुने, लगेको पैसा फिर्ता गरिसकेको मान्छेलाई चाहिँ किन कारवाही गर्नु ?’, ती नेताको प्रश्न छ ।

सचिवालयको पहिलाको बैठकमा ‘पत्नी पिट्ने, परस्त्रीसँग लाग्ने’ भन्दै अध्यक्ष केपी ओली निकै आक्रामक हुनुहुन्थ्यो । तर, पछिल्लो समय किन उहाँ त्यस्ता व्यक्तिलाई ‘सात खत’ माफ गर्न तयार हुनुभयो भन्ने कुरा स्वयं केन्द्रीय सदस्यहरूले बुझ्न सकेका छैनन् । 

सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीमा यस्तो रमिता चलिरहेको बेला तीन–चार वटा विवाहका कारण चर्चामा आउने गरेका गृहमन्त्री रवि लामिछानेले ‘एमालेबाट केही सिक्नुपर्छ’ भन्दै चैत १५ गते दिउँसो एउटा टोली च्यासल पठाएका छन् । उनले पार्टी कार्यालय, कमिटी सञ्चालन र व्यवस्थापनबारे अध्ययन गर्न भन्दै डा.मुकुल ढकालसहितको टोली पठाएका हुन् । पहिला त रवि नै आउने भए भनेर क्यान्टिनमा मीठा–मसिना खाने कुरा बनेको थियो । तर, पछि प्रतिनिधिमात्रै पठाए, आफू गएनन् । मुकुलको टोलीलाई महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेताहरू राजन भट्टराई, डा. भिष्मराज अधिकारी, काशिनाथ अधिकारीले सहजीकरण गरेका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू