पैसा ठूलो कि ओखतीमुलो !

पैसा ठूलो कि ओखतीमुलो !

भोकालाई पैसाभन्दा जरुरी भोजन हुन्छ । यस्तै, असहाय, विपन्न बिरामीलाई आर्थिक सहायता भन्दा खाँचो ओखतीमुलोकै हो ।

आर्थिक अभावकै कारण नगरवासी कोहीपनि स्वास्थ्यसेवाबाट वञ्चित हुन नपरोस् भनी बकुलहर रत्ननगर अस्पतालमा उपचार कोषको व्यवस्था गरिएको छ । ‘उपचारका लागि पहिला आर्थिक सहायता भनेर नगरपालिकाबाट पैसा बाँड्ने चलन थियो’, रत्ननगर नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव अधिकृत नरहरि श्याम शर्माले भने, ‘बिरामी नभएकाले पनि लगे, उद्देश्य अनुरुप भएन । दुरुपयोग हुँदो रहेछ’, उनले थपे, ‘यहाँ मेयर सा’प आएपछि त्यो कोष खडा गरिएको हो ।’       

रत्ननगर नगरपालिकाले विपन्न नागरिक उपचार कोष स्थापना गरी २०७९ माघबाट सेवा दिन सुरु गरेको बताइन्छ । प्रलाद सापकोटा अहिलेका मेयर हुन् । बकुलहर रत्ननगर अस्पतालमा अहिले वार्षिक रु। ३० लाखको कोषको व्यवस्था भएपछि स्थानीय गरिबगुरुवाको त्यसैबाट उपचार गर्ने गरिएको छ । सोही पैसाबाट बेवारिसे बिरामीको पनि उपचार भइरहेको छ । गत आर्थिक वर्षको अन्त अर्थात् २०८० असार मसान्तसम्मको करिब ६ महिनामा ३६ जनाले उक्त कोषबाट निःशुल्क औषधिउपचार सेवा प्राप्त गरेको यसको रेकर्डिङ र रिपोर्टिङका लागि अस्पतालमा खटिएका नगरपालिकाका कर्मचारी विशाल सिलवालले जानकारी दिए ।  

अस्तिमात्रै रत्ननगर–७ का १५ वर्षीय सुदर्शन बानियाँलाई उक्त कोषमार्फत् सेवा प्रदान गरिएको विशालले बताए । बानियाँको गत फागुनमा लडेर हात भाँचिएको थियो । गरिब परिवारका उनले बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क उपचार पाइरहेका छन् । बताइएअनुसार बालक बानियाँको उपचारमा सुरुमा अप्रेसन खर्च नै १० हजार लाग्यो । अरु औषधि लगायत खर्च पुगेन । उनी फागुन १७ गते अस्पताल भर्ना भएका थिए । १८ गते नै थप १५ हजारको अर्को सिफारिस पनि उनले पाए । वडा कार्यालयबाट गरिएको सिफारिसको आधारमा नगरपालिकाले बिरामीलाई कोषबाट औषधिउपचार गर्न अस्पतालमा सिफारिस पठाउने गरेको छ । बिरामीको अवस्था हेरी रु। १० हजारदेखि अधिकतम २५ हजारसम्मको सेवा कोषमार्फत् प्रदान गर्ने व्यवस्था छ । बालकको हातमा स्टिल हालिएको छ, अस्ति प्लास्टर खोलिएको थियो, एक्सरे पनि गरेर हेरियो । सुदर्शनको उपचारमा अहिलेसम्म लगभग १२ हजार जति खर्च भएको विशालले बताए । उनले फेरि कुनै पनि बेला बाँकी पैसा बराबरको स्वास्थ्यसेवा यस अस्पतालबाट यो आर्थिक वर्षभरि पाउनसक्ने विशाल बताउँछन् ।

यसैगरी,  खोकी, श्वास फेर्न गाह्रो अनि दुवै खुट्टा सुन्निएको अवस्थामा यही चैत २ गते भर्ना भएकी रत्ननगर–१२ की ७० वर्षीया बुद्धिमाया मोक्तानले पनि विपन्न नागरिक उपचार कोषमार्फत् बकुलहर रत्ननगर अस्पलतालबाट निःशुल्क सेवा पाइन् । काउन्टर र फार्मेसीमा गरेर अहिले वृद्धाको चारहजार चारसय ३१ रुपैयाँमात्रै खर्च भएको विशालले बताए । गत बिहीबार हामीलाई जानकारी गराएअनुसार चालु आर्थिक वर्षमा अहिलेसम्म ६२ जनाले कोषबाट सेवा लिइसकेका छन् । स्वास्थ्य बिमा नगरेकालाईमात्रै कोषबाट सेवा दिने गरिएको छ । अहिले कोषकै खर्चमा नगरपालिकाभित्रका विपन्न नागरिकलाई खोजी–खोजी स्वास्थ्य बिमा गराइरहेको जानकारी पनि विशालले दिए ।

कोष खडा गरिएपछि लक्षित वर्ग लाभान्वित भएको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल बताउँछन् । पैसै बाँड्दा दुरुपयोग हुनसक्ने अवस्थामा कोष प्रभावकारी भएको उनले बताए । तर अस्पतालमा खटिएका कर्मचारी भन्छन्, ‘हामी त सिफारिस आएपछि सेवा दिन बसेका छौं । कोही कोही त नहोला भन्ने पनि लाग्छ ¤’ जेहोस्, रत्ननगर नगरपालिकामा अहिले आर्थिक अभावकै कारण कोही पनि स्वास्थ्यसेवाबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको प्रमुख प्रशासकीय अधिकृतले बताए । उनले भने, ‘नागरिकको स्वास्थ्यप्रति नगरपालिका अत्यन्त संवेदनशील छ ।’ 

रेडक्रसमा कर्मचारीसहित ब्लड बैंक स्थापना गरिएको छ । यहाँका दुईवटा स्वास्थ्य संस्थामा ल्याब विस्तार गरिएको पनि नगरपालिका कार्यालयले बतायो । ज्येष्ठ नागरिकलाई घर–घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको जनाइएको छ । प्रत्येक वडामा इसिजी र भिडियो एक्सरेसहितको एकीकृत स्वास्थ्य शिविर सञ्चालन भइरहेको स्वास्थ्य शाखाले बतायो ।

नगरमा कोही महिला सुत्केरी भएमा सुत्केरी भएको सात दिनभित्र स्वास्थ्यकर्मी घरमा गएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको पनि सिनियर अहेब अधिकृत नरहरि श्यामले बताए । रत्ननगर नगरपालिकाले एचआईभी संक्रमितहरुको स्वास्थ्यलाई पनि ध्यानमा राखेर सहयोग पुर्‍याइरहेको  बुझिन्छ । उनीहरुलाई भने सहजताका लागि वर्षको १०÷१५ हजार रुपैयाँ पैसै दिने गरिएको बताइएको छ । ‘औषधि खान जान पनि बाटो खर्च चाहिने रहेछ’, नरहरिले भने, ‘पोषणको कमी पनि हुँदो रहेछ उनीहरुलाई विचरा !’ अहिलेसम्म २० जनाजति एचआईभी संक्रमितहरुले नगरपालिकाबाट सो सहयोग लिएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल बताउँछन् । 

बकुलहर रत्ननगर अस्पताल २०७७ सालदेखि प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति भएको सरकारी अस्पताल हो । अहिले यहाँ इन्डोस्कोपी, भिडियो एक्सरे, इको, अप्रेसन लगायतका महत्वपूर्ण सेवाहरु सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक राजकुमार घिमिरेले जानकारी दिए । १०० बेडको घोषणा गरिसकिएको छ ।

अहिले आठवटा एनआईसीयु, पाँचवटा आईसीयु र अन्य जनरलसमेत गरी ९० बेड सञ्चालनमा रहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक बताउँछन् । अब मेमोग्राफी सुरु हुँदैछ । आगामी आर्थिक वर्षमा सिटी स्क्यानको प्लानिङ पनि भइरहेको बताइएको छ ।
 
     
      
 

टिप्पणीहरू