ज्योतिषले जोगाउलान् नि अब यिनलाई

ज्योतिषले जोगाउलान् नि अब यिनलाई
सुन्नुहोस्

‘ढाँटेका कुरा काटेर पनि नमिल्ने’ भएपछि ज्योतिषको शरणमा पुगेका छन्, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी । पोखरा, जनकपुर, मनाङ र भैरहवा विमानस्थलसहित विभिन्न परियोजना सञ्चालन गर्ने क्रममा अर्बौंको आर्थिक घोटालाको विषयमा अख्तियारले अनुसन्धानलाई तीव्र पारेपछि उनी ज्योतिषको शरणमा पुगेका हुन् । उनै ज्योतिष अंगिरश न्यौपाने, जसले शेरबहादुर देउवालाई सात पटक प्रधानमन्त्री हुने भनेका थिए । त्यसमध्ये पाँचपटक प्रधानमन्त्री भइसकेका ७९ वर्षीय देउवाको हकमा अब के हुन्छ ? थाहा छैन । तर, शुरुमै एक लाख रुपैयाँ गुरुभेटी चढाएपछि ती ज्योतिषले गतहप्ता प्रदिपलाई भने, ‘०८० सालमा शत्रु, ऋण, रोग, कष्ट बढ्छ । ०८१ सालमा मन्त्री, प्रधानमन्त्रीभन्दा पनि माथि हुने योग छ ।’

अख्तियारबाट जोगिने सबै उपाय सकिएपछि ज्योतिष हेराएर फर्किएका उनले सिनामंगलस्थित विमानस्थलअगाडि प्राधिकरणको शिश महलमा श्रीयन्त्र जडान गर्नुका साथै बस्ने कुर्सी र टेबुलहरू पनि वास्तुलाई कारक देखाउँदै बांगोटिंगो बनाएका छन् । स्मरणीय छ, श्रीयन्त्रले मान्छेलाई दिन–दशा लाग्नबाट जोगाउने विश्वास केही वर्ष पहिल्यै भंग भइसकेको छ । दिपकराज जोशी कामु प्रधानन्यायाधीशका रुपमा सर्वोच्चमा बहाली भएकै दिन त्यहाँको दुलैदुलो भएको मूल बिल्डिङबीचको झ्यालमा त्यसरी नै श्रीयन्त्र जडान गरेका थिए । तर, उनी नेपालका एकमात्र त्यस्ता प्रधानन्यायाधीश सावित भए, जसको नियुक्तिलाई एमाले घनत्वको संसदीय सुनुवाईले नै खारेज गरिदियो । 

प्राधिकरण कार्यालय रहेको नौ तल्ले शिश महलको सातौं तल्लामा उनको कार्यकक्ष छ । आफू बस्ने तल्ला भन्दामाथि हल बनाएर छैठौं तल्लामा सचिवालय राखेका छन् । कर्मचारीसमेतले हत्तपत्त भेट्न पाउँदैनन् । ठेकेदार र पैसा लगानी गरेका पार्टनरसँग मात्र हो, उनले भेट्ने । कर्मचारीलाई भेट्नै परे तल्लो तल्लामा रहेको सचिवालयमा मेटल डिटेक्टरबाट शरीर जाँच्नुपर्ने र मोबाइल, क्यामेरा, घडी, कलम, चस्माजस्ता सबै सामान त्यहीँ राखेर टोकन लिनुपर्ने अनि लामो समय सचिवालयमा पर्खाएर शरीरमात्रै भएको मान्छेलाई भेट्ने चलन चलाइएको छ । 

गत बिहीबार पोखरा विमानस्थल निर्माणका क्रममा भएको घोटालाको विषयमा अख्तियारसामु पूर्वमहानिर्देशक र आफूभन्दा मुनिका कर्मचारीलाई दोषी देखाउँदै बयान दिएका छन् । त्यसमध्ये पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन, सञ्जिव गौतम, राजन पोखरेलहरूको हकमा ‘उहाँहरूले निर्णय गरेर दिएको जिम्मेवारी पूरा गरेको हुँ, म त कामदारमात्रै हो’ भन्ने उनको दाबी छ । उनले बिग्रिएका सबै कुरा पोखरा विमानस्थल आयोजनाका प्रमुख बिनेश मुनकर्मी र राष्ट्रिय गौरवकी प्रमुख चाँदमाला श्रेष्ठहरूबाट भएको भनेका छन् । ‘सबै काम तलबाट उनीहरूले गर्ने हो, म त पुलमात्र हुँ । मैले केही बिराएको छैन । शत्रु लाग्यो ।’ भनेर बयानमा लेखाएका छन् । यसपछि अख्तियारले उनले पोलेकाहरूलाई पत्र काटेर बयानका निम्ति बोलाउन थालेको छ । अब बिनेश र चाँदमालाहरूले भन्लान् नै, भुक्तानी उनैले दिएका हुन्, कागजातमा हस्ताक्षर गर्ने पनि आफैं हुन् । हामी त लाए अह्राएको गर्ने पात्र मात्र हौं । 

उनले गत १६ गते शुक्रबार नयाँ पर्यटन मन्त्री हितबहादुर तामाङको अध्यक्षतामा प्राधिकरण सञ्चालक समितिको बैठक राखे । पोखरा विमानस्थल निर्माणका क्रममा चिनियाँ कम्पनीलाई भन्सार छूट दिइएको २ अर्ब २२ करोड रकमका सम्बन्धमा एउटा कमिटी गठन गरेर अध्ययन गर्ने प्रस्ताव थियो । बोर्डले उक्त प्रस्ताव ठाडै अस्वीकार ग¥यो । यसपछि पहिला महालेखाले आफ्नो रिपोर्टमा औंल्याएको बेरुजुबारे चिठी लेखे, ‘राय, सल्लाह पाऊँ’ भनेर । महालेखाले ‘यो विषय हामीसँग सम्बन्धित नभएको, हामीले लेखापरीक्षण मात्रै गर्ने हो, त्यसमा देखिएको कुरामा मात्रै बोल्ने हो’ भन्यो । र, ‘के गर्नुपर्ने, नपर्ने, ठेक्का सम्झौतामा के छ प्राधिकरणले नै जान्ने हो’ भनेपछि मुख बन्द भएको छ । 

अर्को महिना चिनियाँ कम्पनीलाई गर्नुपर्ने अन्तिम भुक्तानीको विषयलाई लिएर दूतावासाले अर्थ, पर्यटन र परराष्ट्र मन्त्रालयले डिप्लोम्याटिक नोटसहित प्राधिकरणलाई चिठी काटेको छ । उक्त चिठीमा सन् २०२४ मे ३१ पछि ऋणको म्याद सकिने कुरा उल्लेख छ । यसमध्ये पर्यटनले माघको २६ गते लेखेको पत्रको जवाफ दिनुअघि उनले ऋण लिन बाँकी रहेको भन्दै अर्थ मन्त्रालयलाई गुहारेका थिए । ‘चाइना एक्जिम बैंकसँग ऋण सम्झौता अर्थ मन्त्रालयमार्फत भएको र अब थप ऋण लिने सम्बन्धमा के गर्ने, अन्तिम भुक्तानी दिने कि नदिने’ भन्दै लेखिएको उक्त चिठीको जवाफमा अर्थले ‘त्यो काम प्राधिकरणकै भएको हुँदा के गर्न उपयुक्त हुने हो, त्यहीँबाट गर्नु’ भनिदियो । उनले चीनसँग ऋण लिन बाँकी रहेको उक्त प्रस्ताव पनि बोर्डमा लगे । त्यससम्बन्धी कार्यदल बनाउने भन्ने प्रस्ताव थियो, बोर्डले सीधै खारेज गरिदियो । अर्थात्, आफू फस्नुसम्म फसिसकेपछि जोगिनका लागि बोर्डबाट निर्णय गराउने कोशिश सफल भएन । उनको यस्तो रवैयाका कारण बोर्डमा अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा जाने गरेका भन्सार विभागका पूर्व महानिर्देशक शोभाकान्त पौडेल साउनदेखि ‘अब फसिन्छ’ भन्ने बुझेर जाँदै गएनन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू