‘मदन’ को नामकै छेउमा मनलाग्दी

‘मदन’ को नामकै छेउमा मनलाग्दी

अरनिको राजमार्ग छिमेकी देश चीनसम्म पुनर्निर्माण तथा फराकिलो बनाउन र काभ्रेको पाँचखालमा कम्युनिष्ट नेता मदन भण्डारीका नाममा विश्वविद्यालय निर्माण गर्न सहयोग गर्ने बचन मदनपत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी देश चीनका समकक्षीले दिएपछि हौसिएको एमाले र तत्कालीन एमाले नेतृत्वको केपी ओली सरकार, काभ्रेबाटै विजयी भई मन्त्री भएका गोकुल बाँस्कोटाले रातारात स्थानीय स्तरको सहमति जुटाउँदै नगरपालिकाको समेत स्वीकृति लिई मन्त्रिपरिषद्बाट जग्गा अधिग्रहण गर्‍यो । 

विश्वविद्यालय निर्माणका लागि सरकारले १२ हजारभन्दा धेरै रोपनी जमिन अधिग्रहण गरी कार्य प्रारम्भ गरेको थियो । मुख्यमन्त्री डोरमणि पौडेलले उक्त विश्वविद्यालय मकवानपुरमा निर्माण गर्ने योजनासाथ चित्लाङ र आसपासका बन्द भएका विद्यालयका भवनलाई विश्वविद्यालयका केही विभागका बोर्ड झुण्ड्याउने तयारी गरेका थिए । काभ्रे र मकवानपुर विवाद भएपछि मन्त्रिपरिषद्बाट मुख्य कार्यालय काभ्रेको पाँचखाल र विश्वविद्यालयका अन्य विभाग विभिन्न जिल्लामा राख्न सकिने गरी स्वीकृति प्रदान गरेको थियो । चीनसँग जोडिने अरनिको राजमार्ग र बिपी राजमार्गले समेत छुने उक्त विश्वविद्यालयका अलावा पाँचखालमा निर्माण हुँदै गरेको सेज, अन्य पूर्वाधार र चीनसँगको नजिक भएकाले जमिनका हिसाबले भण्डारणसमेत गर्न सहज पाँचखालमा अन्य संरचना निर्माणमा पनि चीन तयार थियो । तर, सरकार ढलेलगत्तै रोकिएका काममा भने स्थानीय सरकारले हस्तक्षेप गर्न थालेका छन् । 

नमोबुद्ध नगरपालिकाका कर्मचारी सन्तोष काफ्लेले सामुदायिक वनको जग्गामा फोहोर प्रशोधन केन्द्र बनाउने निर्णय भएको बताए । ‘मदन भण्डारी विश्वविद्यालय निर्माण गर्न लागेको जग्गा र उक्त जग्गाको कित्ताचाहिँ एउटै हो जग्गाचाहिँ फरक छ’, सन्तोष काफ्लेले भने, ‘विश्वविद्यालयलाई असर नपार्ने गरी प्रशोधन केन्द्र निर्माण प्रारम्भ गरिएको हो ।’ 

०७६ साल माघ २३ गते साविक मेथिन्कोट गाविस ७ हालको नमोबुद्ध नगरपालिका–३ स्थित चरुवामा रहेको कित्ता नम्बर ८१ को ४ हजार ३७ रोपनी १३ आना ३ दाम जमिन नेपाल सरकार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका नाममा कायम गरिएको छ । उक्त कित्तामा थप १० हजारजति जग्गा रहेको काफ्लेले बताए । कुल २६ कित्तामा रहेको करिब १२ हजार रोपनी जमिन विश्वविद्यालयका नाममा कायम गराई निर्माण प्रक्रिया शुरु नहुँदै केपी ओली नेतृत्वको सरकार बिदाइ भएको थियो । छिमेकी देश चीनका राष्ट्रपति नेपाल आउँदासमेत उक्त विश्वविद्यालय निर्माण गर्न समकक्षी विद्यादेवी भण्डारीसँग औपचारिक र अनौपचारिक सहमति भएको थियो । नेपालको बदलिँदो राजनीतिक घटनाक्रम, अस्थिर राजनीतिक दलको गठबन्धन र छिमेकी देशप्रतिको नेपालको अनुदार नीतिका कारण पाँचखालमा उक्त विश्वविद्यालय निर्माण प्रक्रिया शुरु हुन सकेको छैन । 

नमोबुद्ध नगरपालिकाको ०८० माघ २५ गते बसेको कार्यपालिकाको बैठकले नमोबुद्ध नगरपालिका–३ स्थित कित्ता नम्बर ८१ को ५ हेक्टर जमिनमा कमर थुम्कामा करिब १५ करोड रूपैयाँ लागतमा एकीकृत वैज्ञानिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न नगरपालिकाको तर्फबाट ४० प्रतिशत र अन्य क्षेत्रबाट ६० प्रतिशत स्रोत सुनिश्चित गर्ने निर्णय गरेको सूचना अधिकारी बुद्धिराज अर्यालले जानकारी दिए । साविक मेथिन्कोट गाविस–७ मा रहेको कित्ता नम्बर ८१ को केही हजार रोपनी जग्गा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका नाममा दर्ता भएको छ । सोही विषयमा कार्यपालिकाको २०८० फागुन २९ गते बसेको बैठकले चरुवामा रहेको सामुदायिक वनको कमर थुम्कामा निर्माण गरिने फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि इनरिच नेपालले तयार गरेको डिपिआर स्वीकृत गर्ने निर्णय गरेको छ । ०८१ साल वैशाख ३ गते बसेको बैठकले इनरिच नेपालले तयार पारेको डिपिआरसँगै प्रारम्भिक वातावरणीय प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ । 

– मोतीराम तिमल्सिना

 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू