स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्नु : पाठ्यक्रम विकास केन्द्र

स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्नु : पाठ्यक्रम विकास केन्द्र
सुन्नुहोस्

पाठ्यक्रम विकास केन्द्रले स्वीकृति प्राप्त पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र प्रयोग गर्न निर्देशन दिएको छ । केन्द्रले मुलुकभरका स्थानीय तह र सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई गरेको परिपत्रमा उक्त निर्देशन उल्लेख छ । 

शिक्षा नियमावली, २०५९ को परिच्छेद ७ को नियम ३५ मा विद्यालयहरुले प्रयोग गर्ने पाठ्यसामग्री तथा पाठ्यपुस्तक केन्द्रले स्वीकृत गरेको सूचीमा हुनुपर्ने प्रावधान छ । 

त्यस्तै, पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ को दफा २७ को उपदफा (१) बमोजिम गठित पाठ्यसामग्री व्यवस्थापन तथा मूल्यांकन समितिको सिफारिसको आधारमा विद्यालय तहका पाठ्यसामग्री स्वीकृति र सूचीकरण गर्ने व्यवस्था छ । 

सोहीअनुरुप केन्द्रले प्रत्येक वर्ष पाठ्यपुस्तक तथा सिकाई सामग्रीलाई स्वीकृति प्रदान गरी सूचीकरण गर्दै आएको छ । केन्द्रको सूचीमा रहेका पूर्व प्राथमिकदेखि कक्षा १२ सम्मका पाठ्यपुस्तक तथा सिकाई सामग्री मात्र प्रयोग गर्न गराउन निर्देशन दिएको हो । 

परिपत्रमा लेखिएको छ, ‘यस केन्द्रको सूचीमा रहेका पूर्व प्राथमिकदेखि कक्षा १२ सम्मका सिकाई सामग्री, पाठ्यसामग्री तथा पाठ्यपुस्तक मात्र प्रयोग गर्नु गराउनुहुन सम्बन्धित सबै स्थानीय तह, सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षक तथा अभिभावकहरुलाई जानकारी गराइन्छ ।’

टिप्पणीहरू