के सम्भव छ– देउवा फेर्ने, ओली घेर्ने र मध्यावधि गर्ने ?

के सम्भव छ– देउवा फेर्ने, ओली घेर्ने र मध्यावधि गर्ने ?
सुन्नुहोस्

सत्ता गठबन्धन निर्माणका नाममा देशका सबै कम्युनिष्ट अहिले एक ठाउँमा छन् । तर, कुनाकाप्चातिर अलग्गै साउती मार्न थालिएको छ । कांग्रेसवृत्तमा कुरा चलेको छ कि, ६ महिनादेखि वर्षदिनभित्र एमालेसहितको नयाँ गठबन्धन बन्नेतिर ‘चिजको विकास’ हुँदै छ । न्यूनतम साझा कार्यक्रमसम्म सरसल्लाहमै चलेको एमाले एकाएक सत्तारुढ गठबन्धनका साझेदार दलहरूसँगको संवादमा उति रुचि देखाइरहेको छैन ।

पाउनुपर्ने कुराका हिसाबले अब एमालेसँग उति धेरै विषय बाँकी छैनन् । मन्त्रालयको संख्या भनेजति तर मन्त्रालय भनेजस्ता परेनन् । अब वैशाख १५ मा हुने उपनिर्वाचनमा उसलाई इलाम २ सुरक्षित पार्नु छ । त्यसमा सत्तासाझेदार अन्य दलले साथ नदिनुपर्ने कारण देखिँदैन । तर, एकलौटी उम्मेदवारी घोषणाको कुरालाई लिएर गठबन्धन दलहरूले उसको नियतमाथि प्रश्न उठाउन थालेका छन् । सरकारमा गठबन्धन गर्ने, चुनावको उम्मेदवारीमा एकलौटी गर्ने कुराले कतै भित्रभित्रै कांग्रेससँग लोली मिलाउँदै त छैन ? यस्तो आशंका सत्तारुढ दलका नेताहरूबीच चलेको छ । यद्यपि, स्वयं कांग्रेस नेताहरू आन्तरिक छलफलका क्रममा कम्तीमा पनि ६ महिना ‘केही नहुने’, त्यसपछि अनेकन सम्भावना जीवित रहने भन्न थालेका छन् । 

पार्टी सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता रहिरहेको अवस्थामा नयाँखाले सत्ता गठबन्धन निर्माण गर्ने कुरा करिब–करिब सम्भव छैन । एमालेसँगै सत्ता सहकार्य गर्नुपर्ने भयो भने पनि देउवालाई दलको नेता कायमै गर्ने कुरा बाधक बन्ने स्थिति छ । तसर्थ, दलको नेताका रुपमा देउवाको बहिर्गमनलाई मूल सूत्र मानेर एकथरी कांग्रेस नेताको सल्बलाहट शुरु भएको बताइन्छ । अनुमान छ, केही सांसदलाई टेरामक्स प्रकरणमा कारबाही हुन्छ । त्यसपछि संसदीय दलको नेता परिवर्तनको विषय सहज रूपमा अगाडि बढ्न सक्छ ।

कम्तीमा पनि उक्त प्रकरणले मोहन बस्नेत, ज्ञानेन्द्रबहादुर कार्की र विनोद चौधरीलाई कारबाही गर्ने स्थिति बन्यो भने संसदीय दलभित्र देउवा कमजोर हुने र त्यही ठाउँबाट ‘नयाँ चिजको विकास’ गर्न सकिने अनुमान गरिएको छ । यदि, केही महिनाभित्र टेरामक्स प्रकरणले अगाडि बढ्ने मौका पाएन भने पनि एक वर्षभित्रै कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल गर्न सकिने ती नेताहरूको विश्वास छ । सरकार नभएपछि र त्यसबाट लाभ लिने अवस्था नभएपछि विक्षिप्तझैँ हुने कांग्रेसको एउटा तप्कालाई आकर्षित गरेर संसदीय दलको खेलो अगाडि बढाउन सकिने सम्भावनाबारे नेताहरूबीच चर्चा चलिरहेको छ ।

अर्को महिना सम्पन्न हुने भारतीय निर्वाचनपछि नेपाल मामिलालाई उसले कसरी हेर्छ भन्ने आधारमा पनि कांग्रेसभित्रको आन्तरिक सन्तुलन निर्भर छ । भारतले देउवालाई रुचाउने कुरा भएन । न त विद्यमान सत्तासमीकरण नै उसका निम्ति रुचिकर छ । त्यसमाथि अबको निर्वाचनलाई ०८४ सम्म पर्खिने धैर्यता पहिलो पुस्ताका नेतामा छैन । ७२–७३ उमेर पुगेका शीर्ष नेताका निम्ति ०८५ साल भनेको ७६–७७ को उमेर हुनु हो अझ केपी ओलीका निम्ति त ०८४ साल भनेको ७८ वर्षको उमेर हुनु हो । त्यसैले विभिन्न जोड र कोण मिलाएर त्यसअगावै मध्यावधि निर्वाचन गराउने र त्यहीअनुसार सत्तासमीकरणतर्फ उन्मुख हुनेतर्फ घटनाक्रम क्रमशः विकास हुने अनुमान गरिएको छ । जसरी कांग्रेसका नेताहरूलाई एमालेसँगको आगामी सहकार्यको हुटहुटी जागिसकेको छ, एमाले अध्यक्ष केपी ओलीमा पनि बीचमा मध्यावधि निर्वाचन गरेर सत्तामा हावी हुने चाहना बढ्नु अस्वाभाविक होइन ।   

यसरी राष्ट्रिय राजनीति एमालेका निम्ति सबैभन्दा सुविधाजनक ठाउँमा आइपुगेको छ । उसलाई भारतसँगको बिग्रँदो सम्बन्ध सुधार्नु छ । त्यो कुरा अहिलेको गठबन्धनबाट सम्भव भएन भने कांग्रेससँगको गठबन्धनबाट अगाडि बढ्दा सहज हुने देखिन्छ । कांग्रेसका निम्ति प्रचण्डबाट प्राप्त धोकाको बदला लिने कुरा उत्तिकै महत्वमा पर्ने भयो । यसबीचमा एमालेको तर्फबाट एकीकृत समाजवादीसँग पार्टी एकता गर्नेजस्ता कुरा बन्द भएका छन् । यदि, कांग्रेससँग मिलेर प्रचण्ड सरकारलाई ‘चक्मा’ दिइयो भने त्यसपछि राष्ट्रपतिबाट ‘काम लिने गरी’ ओली अगाडि नबढ्नुहोला भन्न सकिँदैन । त्यस्तो भयो भने ०८१ को मध्यतिर सरकार फेर्ने र ०८२ सालभित्रै मध्यावधितर्फ मुलुक नजाला भन्न सकिन्न ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू