हरिप्रसाद सचिवमा बढुवा, पर्यटन बोर्डमा तीनजना मनोनित

हरिप्रसाद सचिवमा बढुवा, पर्यटन बोर्डमा तीनजना मनोनित
सुन्नुहोस्

सहसचिव हरिप्रसाद लम्साल सचिवमा बढुवा भएका छन् । आज बसेको क्याबिनेट बैठकले उनलाई नेपाल प्रशासन सेवा समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । 

त्यस्तै, नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने क्याविनेटले निर्णय गरेको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्ष २०८०-०८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ तोक्ने निर्णय पनि बैठकले गरेको छ । १८ प्रतिशत बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विटन्ल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने समेत निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो । 

यता, आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने र आगामी आर्थिक वर्ष २०८१-०८२ को लागि राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम सात प्रदेशको लागि ७७ अर्ब ५० करोड र स्थानीय तहका लागि ७७ अर्ब ५० करोड रुपैयाँ स्वीकृत गर्ने पनि निर्णय भएको छ । 

वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृत गर्ने पनि क्याबिनेट बैठकको निर्णय छ ।

टिप्पणीहरू