इलामको उपनिर्वाचनअघि रास्वपाको ‘प्राइमरी इलेक्सन’

इलामको उपनिर्वाचनअघि रास्वपाको ‘प्राइमरी इलेक्सन’
सुन्नुहोस्

इलाम–२ को उपनिर्वाचनमा भिड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट छ जनाले इच्छा राखेका छन् । 

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपानेले उम्मेदवार बन्न निवेदन दिएका हुन् । प्रारम्भिक उम्मेदवारीउपर दावी विरोध गर्ने समय भोलि दिउँसो १ बजेसम्मलाई निर्धारण गरिएको पनि आयोगले जनाएको छ । 

रास्वपाको विधानमा प्राइमरी इलेक्सनबाट उम्मेदवार चयन गर्ने व्यवस्था छ । सोहीबमोजिम निवेदन दिएका छ जनामध्ये एकजना उम्मेदवार हुनेछन् ।

प्रक्रियागत हिसाबले त्यसो भएपनि माओवादी छोडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको तयारी रहेको चर्चा छ । पत्रकारसमेत रहेका उनी पहिचान पक्षधर हुन् ।

सभापति रवि लामिछाने सञ्चारकर्ममा रहँदाका सहकर्मीसमेत रहेका लिम्बूलाई उम्मेदवार बनाउने भित्रि सहमतिका आधारमा उनले प्राइमरी इलेक्सनका लागि निवेदन दिएको बताइएको छ । 

तर, संघीयताको समेत विपक्षमा रहँदै आएको पार्टीले जातीय राज्यको वकालत गर्दै आएका व्यक्तिलाई उम्मेदवार बनाउन लागेको भन्दै रास्वपाको तल्लोपंक्ति भने असन्तुष्ट देखिन्छ ।

टिप्पणीहरू