बालुवाटारमा एकाएक बाङबुङ

बालुवाटारमा एकाएक बाङबुङ

यताउता बानेश्वरमा निर्वाचन प्रक्रिया चल्दै थियो, बालुवाटारमा मुक्कामुक्की ! गत बुधबार राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित हुँदै गर्दा बालुवाटारस्थित उनी बस्ने क्वार्टरमा मुक्कामुक्की चलिरहेको थियो । त्यहाँ सरसफाइ गर्न पुगेका कर्मचारीबीच पाखुरा सुर्कासुर्की मात्र चलेन हात हालाहालै भयो । अध्यक्षको क्वार्टर सफाइ गर्न एउटै निकायका दुई वटा फरक शाखाबाट कर्मचारी पुगेसँगै ‘तैले सफा गर्ने कि मैले’ भन्ने विषयमा उनीहरूबीच पाखुरा सुर्कासुर्की र कुटाकुट चलेको हो ।

त्यतिबेला एउटै विभागको निर्माण शाखा र आन्तरिकबाट कर्मचारी बालुवाटार पुगेका थिए । धन्न सुरक्षाकर्मीले आएर छुटाए र कुनै अप्रिय घटना हुन पाएन । दुबै शाखाबाट खटाइएका कर्मचारीबाट पार नलागेपछि आन्तरिक कर्मचारीलाई लगाएर काम टुंग्याइएको छ । यसअघि पनि यस्तै लफडा नवनियुक्त मन्त्रीहरूको क्वार्टर सफा गर्दा देखा परिसकेको थियो ।

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, मन्त्री, सभामुख, उपसभामुखसहित राष्ट्रिय सभाका अध्यक्षलगायतको भवन मर्मत सम्भारका अलावा सरसफाइको समेत काम हेर्दै आएको छ शहरी विकास मन्त्रालय मातहत संंघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले । यसअघि आन्तरिक शाखाबाट हुँदै आएको काम अहिले निर्माण शाखातिर सारिएसँगै भिभिआइपीका क्वार्टरबाटै सामान चोरी हुने, हराउने, टुट्ने फुट्नेक्रम बढ्दै गएको छ ।

साउन अगाडिसम्म बिग ६ को मर्मत, सम्भार तथा सरसफाइको काम आन्तरिक शाखाबाट हुँदै आएकोमा लेखा प्रमुखमा हिरण्य पराजुली पुगेसँगै खोसिएको छ । पछिल्लो समय त प्रधानन्यायाधीशको क्वार्टरबाटै राउटर गायब भयो । मन्त्री क्वार्टरबाट केही हिटर चोरी भयो । क्वार्टर सरसफाइको काम अहिले इञ्जिनियर तारा शाक्यको काँधमा छ । 

यसअघि सफाइ काम ८ लाखमा सकिने गरेमा यो आर्थिक वर्षको फागुनसम्म १५ लाखभन्दा बढी खर्च भइसकेको छ । सरकारी खर्च महालेखाको सफ्टवेयरमा इन्ट्री गर्नुपर्ने भए पनि लेखा प्रमुख हिरण्यले पाम्स प्रणालीमा इन्ट्री गराएका छैनन् ।

यस अलवा निर्माण शाखाबाट धुलाई र बिजुलीका काम गर्दा जिन्सी शाखालाई जानकारी हुन छाडेको बताइन्छ । उता, घर जान ६ महिना अवधि मात्र बाँकी रहेका त्यहाँका हाकिम कुमार घिमिरे गत साता नै शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नियुक्त भएका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू