मदिराले मात्तिएर प्रहरीमाथि आक्रमण

मदिराले मात्तिएर प्रहरीमाथि आक्रमण
सुन्नुहोस्

ड्युटीमा खटिएका एक प्रहरीमाथि अराजक समूहले निर्घात कुटपिट गरेको छ । बझाङको धुलिस्थित ईलाका प्रहरी कार्यालयका सहायक हवल्दार योगेन्द्र खड्कामाथि मदिराले मातिएका दुई युवकले आक्रमण गरेका हुन् । 

गएराति साढे ९ बजे केदारस्यु गाउँपालिका–९, झोता बजारस्थित केएमडी होटलमा केही व्यक्तिले मापसे गरी होहल्ला र झैझगडा गरिरहेको गुनासो आएपछि प्रहरी हवल्दार गणेश मल्लको कमाण्डमा चार जनाको टोली त्यहाँ पुगेको थियो । सो क्रममा मदिराले मात्तिएका दुर्गाथली गाउँपालिका–२ बस्ने विनोद रावल र जयपृथ्वी नगरपालिका–७ का दिनेश महरालाई नियन्त्रणमा लिने क्रममा सहायक हवल्दार खड्का कुटिएका हुन् । 

उनको टाउकोमा ढुंगा प्रहार गरिएको बताइएको छ । घाइते खड्काको हाल जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । 

कुटपिटसम्बन्धी कसुरमा दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू