'कालो धनको कथा' हेर्न गृहमन्त्री लबिम मलमा

'कालो धनको कथा' हेर्न गृहमन्त्री लबिम मलमा

गृहमन्त्री रवि लामिछानेले चलचित्र 'महाजात्रा'ले विद्यमान समयको विम्ब बोकेको टिप्पणी गर्नुभएको छ । हिजो ललितपुरको पुल्चोकस्थित लबिम मलमा चलचित्र हेरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । 

'महाजात्रा'को रात्रिकालीन शो हेर्न श्रीमती निकिता पौडेलसहित गृहमन्त्री लामिछाने लबिम मल पुग्नुभएको थियो । चलचित्र हेरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफूमा नयाँ उर्जा थपिएको पनि बताउनुभयो । 

चलचित्रको कथावस्तु प्रहरी र अनुसन्धानसँग जोडिएको कारण आफू आकर्षित भएको गृहमन्त्रीको तर्क थियो । चलचित्रले प्रहरी अनुसन्धानको विषयलाई पृथक र सिर्जनात्मक ढंगले प्रस्तुत गरेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँले महाजात्राको अघिल्ला सिक्वेलहरु पनि आफूले हेरिसकेको पनि बताउनुभयो ।

'मलाई यो श्रृङ्खलाका अघिल्ला दुई फिल्म पनि निकै मन परेको थियो', गृहमन्त्री लामिछानेले भन्नुभयो, 'म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रवीन्द्र झाको फ्यान नै हुँ । यस कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेर्न आएको हुँ ।' 

नेताहरुले प्रहरी अनुसन्धानलाई प्रभाव पार्दै कसरी कालो धन प्रयोग गर्छन् भन्ने विषयवस्तुलाई चलचित्रमा प्रस्तुत गरिएको छ । चैत ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र महाजात्राले हलहरुमा आक्रमक ब्यापार गरिरहेको छ । हिजो मात्र एक करोड २० लाख कलेक्शन गरेको दावी गरिएको छ । 

तीन दिनमा चलचित्रले ४ करोड २६ लाख कमाएको र कलेक्शन दिनहुँ बढिरहेकोे निर्माण पक्षको भनाई छ ।

टिप्पणीहरू