मन्त्रीहरु भैंसेपाटी सरेपछि पुल्चोकमा खेलाडी बस्ने कि न्यायाधीश ?

मन्त्रीहरु भैंसेपाटी सरेपछि पुल्चोकमा खेलाडी बस्ने कि न्यायाधीश ?

ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरलाई राष्ट्रिय खेलाडीहरुको निवास बनाउने दावी गरिएको छ । भैंसेपाटीमा मन्त्रीहरुको आवास निर्माण भएपछि हालको मन्त्री क्वार्टरलाई खेलाडीको निवास बनाउने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताएका हुन् । 

आरबीबी एनभिए च्याम्पियनसिपको कार्यक्रममा बोल्दै श्रेष्ठले पुल्चोकस्थित मन्त्री निवास खालि भएपछि त्यहाँ खेलाडीलाई सार्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट  प्रस्ताव अघि बढाउने बताए । दुई महिनाअघि राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले खेलकुद मन्त्रालयमार्फत प्रस्ताव अघि सारेका थिए । 

उक्त प्रस्तावलाई कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढेको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मन्त्रीहरु नयाँ निवासमा सरेपछि पुल्चोकस्थित क्वार्टरमा राष्ट्रिय टिम (महिला र पुरुष) खेलाडीलाई राखिनेछ । क्रिकेट र फुटबल टिमका खेलाडीहरुलाई त्यहाँ सार्न लागिएको उनले बताए । 

तर, यसअघि सरकारले पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच्च अदालतका न्यायाधीशको निवास बनाउने निर्णय गरेको चर्चा थियो । तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले क्याबिनेट बैठकले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई सो निवास उपलब्ध गराउने निर्णय गरेको बताएका थिए ।  

शहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजनाले भैंसेपाटीमा संघीय सरकारका मन्त्रीको निवासका लागि २७ वटा भवन बनाइसकेको छ । ९७ रोपनी क्षेत्रफलमा फैलिएको सो निवासमा २२ मन्त्रालयका मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सभामुख, र उपसभामुख बस्ने छन् ।
 

टिप्पणीहरू