मीटरब्याजी पीडितहरुलाई गृहमन्त्रीको चकलेट

मीटरब्याजी पीडितहरुलाई गृहमन्त्रीको चकलेट

‘ल है चकेलट खाउ, सबैले खाउ । माइक कहाँ छ, खै कहाँ छ ? मधेशमा मुख मिठा गर्ने भन्छन् नि ! हो त्यस्तै मुख मिठा मात्रै गर्ने हो है यो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले हिजो राति भृकुटीमण्डप पुगेर बोलेका केही वाक्य हुन यी ।

मीटरब्याजपीडित तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिसँग सरकारी प्रतिनिधिहरले चार बुँदे सहमति गरेपछि गृहमन्त्री लामिछाने पीडितहरु भेट्न भृकुटीमण्डप पुग्नुभएको थियो । गृहमन्त्रीको साथमा चकलेट पनि थियो । 

चार बुँदे सहमतिले समस्या समाधानको शुभारम्भ गरेको भन्दै आफू चकलेट बाँड्न आएको बताइयो । ‘नेपाल सरकारको गृहमन्त्री म, तपाईहरुसँग छु । यो मिठाई संकेत हो, सुरुवात हो । यो चकलेटको स्वाद यस्तो बसोस् कि आउँदो पुस्ताले शैतानी ब्याज, मीटरब्याजीको पासोमा पर्न नपरोस्,’ चकलेट बाँड्नुअघि यसो भनियो ।

गृहमन्त्री लामिछानेले अब कसैले पनि खुट्टा पट्पटी फुट्नेगरी आन्दोलन गर्नु नपर्ने आश्वासन पनि दिनुभएको छ । ‘संघर्ष त बाँकी नै छ । तर अब खुटा पट्टपटी फुटाएर त्यस्तो संघर्ष गर्न पर्दैन । हामी काम गर्नेछौ, जिम्मेवार भएर । ढुक्क हुनुस् !’ आश्वासन दिँदै भनियो । 

गृहमन्त्री लामिछानेले चार बुँदे सहमति गरे पनि कार्यान्वयन हुनेमा पीडितहरुले आशंका व्यक्त गरेका छन् । यद्यपि, सहमति अनुसार पीडितहरु आन्दोलनका कार्यक्रम स्थगित गरेर आआफ्नो घर फर्किंदैछन् । 

तर आफूहरुसँग घर फर्किने पैसा पनि साथमा नभएको बताइन्छ । संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले दुई सयभन्दा बढी पीडित भृकुटीमण्डपमै अलपत्र अवस्थामा रहेको बताए । उनका अनुसार पैसा नभएर अलपत्र परेकामा पश्चिम तिरका धेरै छन् । नवीनले भने, ’अहिलेलाई पैसा म्यानेज भएकाहरु फर्किनुभयो । दुइ सय हाराहारीमा यतै हुनुहुन्छ, पैसाको व्यवस्थापन गर्दैछौं ।’

गृहमन्त्री लामिछानेले चकलेट बाँडेको भिडियो सार्वजनिक भएपछि कतिपयले ’अशोभनीय स्टन्ट’ भन्दै आलोचना गरेका छन् । विशाल मगरले पीडितहरुलाई घर फर्काउन आर्थिक व्यवस्थापनमा सहयोग गर्नुको सट्टा चकलेट बाँडेर अशोभनीय हर्कत देखाएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘गृहमन्त्री ज्यु, पीडितहरुलाई दुई रुपेको चकलेट चाहिएको हैन, घर फर्किने भाडा चाहिएको हो । स्टन्ट पनि सुहाउने गर्नुस् न हौ !’

टिप्पणीहरू