चार करोडको ‘राजमहल’ गायब

चार करोडको ‘राजमहल’ गायब

नेपालीमा एउटा उखान छ– ’नानी पाउनु कहिले कहिले, कोक्रो बुन्नु अहिले’ । ठ्याक्कै यस्तै चाल छ, नेपाली चलचित्रका निर्माता र कलाकारहरुमा पनि। 

चलचित्र बन्ने हो कि होइन ? बने पनि दर्शकले रुचाउने हुन् कि होइनन् ? थाहा छैन । तरपनि चलचित्र घोषणा गरेर मिडियाबाजी गर्न नेपाली निर्माता र कलाकारहरु तँछाड मछाडमा देखिन्छन् ।

’राजमहल’ को हकमा पनि यस्तै छ । गत पुषको पहिलो साता पाँचतारे होटल याक एण्ड यतिमा तामझामका साथ ’राजमहल’ को घोषणा गरियो । निर्माताहरु शोभा श्रेष्ठ र यशबहादुर गुरुङ्गले नाम चलेकै कलाकारहरुलाई बोलाएर चलचित्रको घोषणा गरे । चलचित्रमा मुख्य भूमिका रहने भनिएका आँचल शर्मा, रमेश उप्रेती, सलोन बस्नेत, सरोज खनाल, मिथिला शर्मालगायत पनि कार्यक्रममा उपस्थित थिए ।

सुरुमा ’ह्वाइट हाउस’ नाम दिइएको चलचित्रलाई त्यही कार्यक्रममा नाम परिवर्तन गरेर ’राजमहल’ राखियो । दरबार हत्याकाण्डको कथामा आधारित भनिएको चलचित्रबाट सविनकुमार तेलाङ्गीले पनि निर्देशनमा डेब्यु गर्न लागेका थिए । 

तर अहिले यो चलचित्रको कहिँकतै चर्चा छैन । माघबाट छायाङ्कन सुरु हुने भनिएको चलचित्रको अवस्था कस्तो छ कसैलाई केही थाहा छैन । बरु चलचित्रका लागि तय गरिएका कलाकारहरु अन्य चलचित्रमा व्यस्त देखिन्छन् । 

त्यतिबेला चलचित्रको बजेट चार करोड रुपैयाँ तोकिएको थियो । तर अहिले निर्माताहरु पनि देखिन छाडेका छन् । एकाध दिन चर्चामा आउनकै लागि पाँचतारे होटलमा भव्य कार्यक्रम गरिएको भन्दै चलचित्रकर्मीहरुले नै कुरा काट्न थालेका छन् । 

त्यतिबेला चलचित्रको लागि भनिएका एक जना मुख्य कलाकारले बताए, ’घोषणा त भव्य नै भयो । त्यसपछि मलाई एक कल पनि आएको छैन । सायद बन्दैन होला अब । निर्माताहरुबीच कुरा मिलेन भन्ने सुनेको छु । फाइनल भएका सबै कलाकार अरु प्रोजेक्टमा व्यस्त देखिन्छन् ।’ 

कार्यक्रममा दरबार हत्याकाण्डबारे दिएको अभिव्यक्तिका कारण कलाकार रमेश उप्रेती आलोचित बनेका थिए । युवराज दिपेन्द्रले नै उक्त काण्ड गराएको भन्ने उप्रेतीको आशय थियो ।

टिप्पणीहरू