‘आनी छोइङ डोल्मा’ को जीवनी निफको ओपनिङ फिल्म

‘आनी छोइङ डोल्मा’ को जीवनी निफको ओपनिङ फिल्म

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ चलचित्रमा आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ रहने भएको छ । महोत्सवको उद्घाटनसँगै सो डकुमेन्ट्री देखाउन लागिएको हो । 

फेस्टिभल अध्यक्ष केपी पाठकले महोत्सवको उद्घाटनसँगै देखाइने चलचित्रका रुपमा रुपमा आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ रहने जानकारी गराएका छन् । आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई कथाबस्तु बनाएर निर्माण गरिएको डकुमेन्ट्रीको जेनिफर लिन र सान बाईले निर्देशन गरेका हुन् । 

निर्देशक लिनले डकुमेन्ट्री आनीको स्वतन्त्रताको खोजीको रुपमा केन्द्रित रहेको बताएकी छिन् । हङकङको सिटी युनिभर्सिटीमा आमसञ्चारकी प्राध्यापक लिनले आनीलाई ७ वर्ष पछ्याएर यो डकुमेन्ट्री तयार गरेकी हुन् । 

सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाको लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि डकुमेन्ट्री बनाउने सोच पलाएको र यसको ५ वर्षपछि काम थालेको लिनले अन्तर्वाताहरुमा भनेकी छिन् । ७ वर्ष लगाएर बनाएको डकुमेन्ट्री अहिले विश्वका फिल्म फेस्टिभलमा आकर्षणको केन्द्र रहँदै आएको छ । डकुमेन्ट्रीले गत साल वार्सा इन्टरनेसनल फिल्म फेस्टिभलमा एसियन प्यासिफिक अडियन्स अवार्ड र नेटप्याक अवार्ड जितेको थियो ।  

डकुमेन्ट्री निफमा पनि माउन्ट एभरेस्ट अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ । यो विधामा देश विदेशका १३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेका छन् । विजेता चलचित्रले १ हजार नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछन् ।

चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवमा यो साल ४० देशका ८८ फिल्म प्रदर्शन हुँदैछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ  ।  

महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल,लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।
 

टिप्पणीहरू