जसले दुर्गा प्रसाईंलाई एक अर्ब दिए, त्यहीँका सिइओले भने ‘लगानीकर्तालाई लाभांश छैन’

जसले दुर्गा प्रसाईंलाई एक अर्ब दिए, त्यहीँका सिइओले भने ‘लगानीकर्तालाई लाभांश छैन’
सुन्नुहोस्

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले अर्को वर्ष बैंकहरुले आफ्ना सेयर लगानीकर्ताहरुलाई लाभांश दिन नसक्ने बताएका  छन् । ढुंगानाले विगतमा नदेखिएको समस्या यतिखेर मुलुकको अर्थतन्त्रमा देखिएको उल्लेख गर्दै त्यसको प्रभाव बैंकहरुमा परेको ठहर गरेका छन् ।

उनले भनेका छन्, ‘अर्थतन्त्रमा सुधार नआएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने देखिन्छ ।’ महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको कार्यक्रममा ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्षदेखि बैंकहरुले लगानीको प्रतिफल दिन नसक्ने ठोकुवा गरेका हुन् । 

जबकि उनी सिइओ हुँदा नेपाल बंगलादेश (एनबी) बैंकले दुर्गा प्रसाईंलाई आँखा चिम्लेर एक अर्ब कर्जा दिएको थियो । पछिल्लो समय उनले लिएको कर्जा अझै ७६ करोड बाँकी छ । बंगलादेश बैंक नबिलमा गाभिएपछि (मर्ज) उक्त खराब कर्जा स्वतः नबिल बैंकको भागमा परेको हो । 

त्यतिबेला ढुंगाना बैंकर्स संघको अध्यक्ष थिए । प्रसाईंजस्ता बिचौलियालाई अर्बौं कर्जा दिएर पोर्टफोलियो म्यानेज गरेका उनले नै अहिले अर्थतन्त्रमा आएको समस्या देखाउँदै लगानीकर्तालाई तर्साएका हुन् । अहिले नबिल बैंकको सिइओ रहेका ढुंगानालगायत कुनै पनि बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकको खर्च कटौती गर्ने नाममा आफ्नो तलब तथा सुविधा घटाएका छैनन् ।

त्यसैगरी विगतमा एमाले बैंकको रुपमा परिचित तत्कालीन जनता बैंकका कारण ग्लोबल आईएमई बैंकले पनि प्रसाईंलाई दिइएको एक अर्ब ऋणको भारी बोक्न परेको बताइन्छ । तत्कालीन गभर्नर युवराज खतिवडासमेतको लगानीमा खुलाइएको उक्त बैंकले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र प्रसाईंलाई हावाको भरमा डेढ अर्ब ऋण दिएको थियो । जनता बैंकलाई गाभेपछि उक्त ऋण पनि ग्लोबल बैंकको थाप्लामा परेको छ ।

प्रसाईंले प्रभु,कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुणविल फाइनान्सलगायतबाट कर्जा लिएका थिए । सबै बैंक तथा वित्तीय संस्थाबाट बि एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा ५ अर्ब ५७ करोड ३० लाख ऋण लिइएको थियो । तीमध्ये धेरै कर्जा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भक्तपुरको घरमा मार्सी चामलको भात खुवाएको बेला हात पारेका हुन् ।
 

टिप्पणीहरू