सर्वोच्चको आदेशविपरीत जनयुद्ध दिवस बिदा घोषणा, खेलकुद परिषदद्वारा गुरिल्ला म्याराथन आयोजना

सर्वोच्चको आदेशविपरीत जनयुद्ध दिवस बिदा घोषणा, खेलकुद परिषदद्वारा गुरिल्ला म्याराथन आयोजना

रुकुम पश्चिमको सानीभेरीमा ‘छैठौ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन, २०८०’ हुने भएको छ । सानीभेरी गाउँपालिकाले राष्ट्रिय खेलकुद परिषदको सहयोगमा ‘जनयुद्ध दिवस’को अवसरका फागुन १ गते म्याराथनको आयोजना गर्न लागेको बताइएको छ ।

गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ ताका जनमुक्ति सेना हिँडेको बाटोमा धावकलाई दौडाउन गुरिल्ला म्याराथन गर्दै आएको बताए । गाउँपालिकाको केन्द्रबाट सुरु भई ‘जनयुद्ध’मा माओवादीले सेनाले विभिन्न तालिम सञ्चालन गरेको मौराखारा लेकसम्म पुग्न गाउँपालिकाले म्याराथनको रुट तोकेको छ । मौराखारा लेक समुन्द्र सतहबाट २ हजार ९ सय मिटरको उचाइमा छ । 

प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने राखिएको छ । गाउँपालिकाका प्रवक्ता पहलसिं घर्तीमगरका अनुसार पुरुषतर्फ ४८ किलोमिटर र महिलातर्फ ३४ किलोमिटरको दूरी तोकिएको छ । पुरूष म्याराथनतर्फ प्रथमलाई एक लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार, चौथोलाई १५ हजार र उत्कृष्ट १० स्थानभित्र पर्नेलाई तीन हजार रुपैयाँ पुरस्कार तोकिएको छ । 

महिला म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १० हजार र माथिल्ला १० भित्र पर्नेलाई तीन हजार पुरस्कार प्रदान गरिने छ ।  प्रतियोगितामा मुलुकका विभिन्न भागबाट धावकहरु रुकुमपश्चिम पुग्ने क्रम शुरु भएको छ । धावकहरुलाई माओवादी गुरिल्लाहरुले प्रयोग गरेको पोशाकमा सजाएर दौडाउने गरिएको छ । 

गाउँपालिकाले म्याराथन कार्यक्रम सञ्चालन निर्देशिका, २०७९ को आधारमा म्याराथन गर्दै आएको बताएको छ । यसैबीच रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा समेत दिएको छ । नगरपालिकाले एक सूचना सार्वजनिक गर्दै गणतन्त्रको आधार जनयुद्ध भएकाले दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

टिप्पणीहरू