न्यूरोडमा सर्वसाधारण दंग, व्यापारी भरङ्ग

न्यूरोडमा सर्वसाधारण दंग, व्यापारी भरङ्ग

सहरमा धेरै सडक केका लागि ? सडकको किनारामा फुटपाथ बनाउनुको उद्देश्य के ? फुटपाथ पैदलयात्री हिँड्नका लागि र सडक सवारी साधन गुड्नका लागि हो । व्यक्तिगत स्वार्थका निम्ति कसैले सार्वजनिक सम्पत्ति कब्जा गर्न पाउँदैन र कब्जा गर्न दिनु पनि हुँदैन । 

काठमाडौं महानगरपालिकाले राजधानीमा व्यापारिक केन्द्रका सडक किनारामा पार्किङ निषेध गरेको छ । अस्तिदेखि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको सडकमा पार्किङ गर्न रोक लगाइएको छ । 

महानगरले ती स्थानमा लगत्तै कालोपत्रेसँगै सरसफाइ पनि गरेको छ । महानगर प्रहरी बलले त्यहाँ पार्किङ निषेधको बोर्डहरु राखेको छ भने नगरप्रहरी पार्किङ गर्न नदिन आफैं खटिएका छन् । पुरानो बसर्पाकमा बनाइएको काठमाडौं टावर परिसरमा निःशुल्क पार्किङको व्यवस्थापन मिलाइएको महानगरले जनाएको छ । 

न्यूरोड आसपासका क्षेत्रमा पार्किङमा रोक लगाएपछि व्यापारीहरुले हल्ला मच्चाएका छन् । उनीहरुले महानगरले राखेको बोर्डसमेत ढालेका छन् । ‘मेयर बालेनको निर्णय बच्चाको निर्णय’ भन्दै आलोचना पनि गरिएको छ । 

महानगरलाई निर्णय फिर्ता गर्न दबाब दिँदै उनीहरुले विरोध प्रदर्शनसमेत गरेका छन् । सटर बन्द गरेर आन्दोलन थालिएको छ । स्थानीय, संघसंस्था, क्लब तथा न्यूरोड व्यवसाय संघर्ष समिति गठन गरेर उनीहरु महानगरको पछिल्लो कमदविरुद्ध उत्रिएका छन् । 

पसलेहरुले गरेको आन्दोलनको फाइदा उठाउँदै विभिन्न राजनीतिक दलनिकट मजदुर संगठनहरु पनि आन्दोलनमा ओर्लिएका छन् । फुटपाथमा पसल थाप्न पाउनुपर्ने माग राख्दै उनीहरुले केही दिनदेखि निरन्तर सडक संघर्ष गरिरहेका छन् । 

नेकपा एमालेनिकट मजदुर संगठन जिफन्टको अगुवाइमा फुटपाथ व्यापारी तथा नेपाल स्वःरोजगार व्यापार श्रमिक संघ, राष्ट्रिय स्वतन्त्र व्यापारी–व्यवसायी संघ र सडक व्यापार संगठन एकीकृत ट्रेड युनियन महासंघले फुटपाथ पसल राख्न पाउनुपर्ने मागसहित महानगरको कार्यालयअगाडि धर्ना दिइरहेको छ । 

पार्किङमा रोक लगाउँदा व्यापार सुक्ने सो क्षेत्रका व्यापारीहरुले बताउँदै आएका छन् । महानगरले आफूहरुलाई विदेश पलायन हुन बाध्य बनाउन खोजेको भन्दै कतिपयले आक्रोश पोखिरहेका छन् । यद्यपि, व्यापारीहरुमै दुईमत देखिएको छ । 

केहीले महानगरको निर्णयमा समर्थन जनाइरहेका छन् भने केहीले आपत्ति । यता, सर्वसाधारणले भने महानगरको निर्णयको स्वागत गरेका छन् । न्यूरोड क्षेत्र निकै भीडभाड हुने स्थान हो । त्यहाँ प्रायः सर्वसाधारणको थेगिनसक्नु चाप हुन्छ । 

‘व्यापारिक हब’ को रुपमा चिनिएको न्यूरोड आसपासका क्षेत्रमा सवारी पार्किङ नदिँदा व्यापार घट्ने होकि भन्ने व्यापारीको त्रास स्वाभाविकै हो । तर, उनीहरुले यसले निम्त्याएको जोखिम, शहरको सुन्दरतामा ल्याएको ह्रास, भएका र हुनसक्ने दुर्घटनाबारे मनन गरेका छैनन् । 

साँघुरा सडक, त्यसमाथि दुवै सडक किनारामा सवारी साधन पार्किङ । पार्किङको उचित व्यवस्थापन नहुँदा सवारीधनीले आफ्नो सवारी साधन सडक किनारामा पार्क गर्दै आएका थिए । जसले गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । न्यूरोड एरिया निकै नै भद्रगोल देखिन्थ्यो । हाल ती स्थान निकै खुल्ला र सफा देखिएको छ । 

पैदलयात्रीलाई हिँडडुल गर्न सहज भएको छ भने पार्किङबापत अवैध असुली गर्दै आएकाहरुको कमाउधन्दामा रोक लागेको छ । यसअघि महानगरले दरबारमार्गको अव्यवस्थित पार्किङ पनि हटाएको थियो । त्यसको विरोधमा त्यहाँका व्यापारीहरुले पनि अहिलेझैँ पसल बन्द गरेर आन्दोलन गरेका थिए । 

महानगरले पार्किङ हटाउने निर्णय फिर्ता नलिएपछि व्यापारीहरु आफैं ‘ब्याक’ हट्नुपरेको थियो । पैदलयात्रामा भेटिएकी रिता भण्डारी महानगरले अस्तव्यस्त पार्किङ हटाएर निकै नै राम्रो काम गरेको बताइन् । जथाभावी पार्किङले कुरुप बनेको न्यूरोड निकै सुन्दर देखिएको उनको भनाइ छ । 

‘महानगरको यो निर्णयले पैदलयात्रीलाई निकै सहज भएको छ । पहिले यहाँ हिँडिनसक्नुहुन्थ्यो । उसैपनि साँघुरो सडक छ, त्यसमा पनि सवारी साधन पार्क गरिएपछि त निकै भीड देखिन्थ्यो । ट्राफिक जाम व्यवस्थापन गर्न हम्मेहम्मे थियो । दुर्घटनाको जोखिम पनि त्यत्तिकै थियो । सिस्टममा जाँदा पहिले सबैलाई अप्ठेरो हुन्छ, विस्तारै बानी हुन्छ’, उनले भनिन् । 

महानगरको निर्णय नमान्नेहरुले पार्किङको स्वयम् व्यवस्थापन गर्नुपर्ने पैदलयात्री अर्चना मैनालीको जिकिर छ । सडक किनारा पार्किङका लागि नभएको कुरा व्यापारीहरुले बुझ्नुपर्ने उल्लेख गर्दै उनी भन्छिन्, ‘सडक किनारामा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नु लज्जास्पद छ । कोही फुटपाथमा पसल थाप्न पाउनुपर्छ भन्दै आन्दोलनमा छन् । फुटपाथ सर्वसाधारणलाई सहजरुपमा आउजाउ गर्नका लागि हो । जथाभावी पार्किङ र फुटपाथमा व्यापार राख्दा दुर्घटनाको जोखिम बढेको छ । महानगरले वैकल्पिक पार्किङको व्यवस्थापन दिएको छ । त्यसले पनि हुँदैन भने आफैंले व्यवस्थापन गर्नुपर्यो ।’

यता, सामाजिक सञ्जालमा पनि महानगरको निर्णयको ‘वाहवाही’ गर्ने धेरै छन् । अस्तव्यस्त पार्किङ हटाउने अभियान जनहितमा भएको अधिकांशको जिकिर छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘बाटो चौंडा गरेको यस्तै पार्किङका लागि हो त ? व्यवसायिक व्यापारिक भवन बनाएपछि पार्किङको पनि सुविधा राख्नुपर्र्यो नि । बाटो ओगेटेर अझ पैसा पनि असुली गर्ने !’ त्यस्तै, अर्काले भनेका छन्, ‘अक्सर विरोध गर्नेहरु नै देश विकास भएन भन्दै हिँड्छन् ।’

अवैध असुली बन्द 

महानगरको मेयरमा निर्वाचित हुनेबित्तिकै विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङको घोषणा गरेका थिए । काठमाडौंका निश्चित क्षेत्रमा स्मार्ट पार्किङको व्यवस्थाका लागि ‘ह्विल्स ट्रुली योर्स प्रालि’ सँग सम्झौता गरियो । 

न्यूरोड आसपासका पाँच वटा ठाउँमा स्मार्ट पार्किङ मिलाउने र त्यसले सवारी पार्किङको समस्यालाई समाधान गर्ने मेयर शाक्यको घोषणा ह्विल्स ट्रुलीका लागि ‘दुहुनो गाई’ बन्यो । नेपालमै पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको भनेर तामसाझका साथ लागु गरिएको पार्किङ केही समयमै भद्रगोल बनेको थियो । 

त्यसले सिण्डिकेट उब्जाएको भन्दै सर्वसाधारणले महानगरको चर्को आलोचना गरेको थिए । यता, पार्किङको नाममा हुँदै आएको अवैध असुली रोक्न पनि व्यापक माग उठेको थियो । सवारी चालकले ती स्थानमा जानुअगावै मोबाइलबाटै कुन ठाउँमा पार्किङ छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्ने भनेर महानगरले गरेको प्रचारप्रसार छोटो समयमै अलपत्र भएको होे । 

सेन्सरमा आधारित प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड पनि गरिने भनिएको थियो । कम्पनीले अघिल्लो तीन वर्ष प्रत्येक सवारी साधनको २० प्रतिशत शुल्क र त्यसपछिका वर्षहरुमा ३० प्रतिशत रोयल्टी महानगरलाई तिर्नुपर्ने सहमति गरिएको थियो । 

महानगरले दुई पाङ्ग्रे पार्किङका लागि प्रतिघण्टा २५ र चार पाङ्ग्रेका लागि ६० रुपैयाँ तोकेको थियो । एकाधिकार जमाएर कम्पनीले मनलाग्दी पैसा असुलेको गुनासो सवारी धनीहरुले गर्दै आएका थिए । यता, पार्किङको पनि गञ्जागोल थियो । अब ती स्थानलाई पार्किङ बनाएर पैसा असुल्ने ढोका बन्द भएको छ । 

निर्णय फिर्ता हुँदैन :महानगर 

महानगरका सहायक सूचना अधिकारी दिपक अधिकारीले पार्किङ निषेध गर्ने निर्णय फिर्ता नहुने बताए । न्यूरोडमा विभिन्न कम्प्लेक्स, भवनहरु गरेर १९ वटा स्थान पार्किङका लागि व्यवस्थापन गरिएको उनको दाबी छ । सवारी चापलाई मध्यनजर गर्दै पार्किङको व्यवस्थापन गरिएको उनले जानकारी दिए । 

उनले भने, ‘कालोपत्रे सडकमा सवारी साधन पार्किङ गर्न नपाइने कानुनी व्यवस्था छ । सडक सवारी र फुटपाथ पैदलयात्रीका लागि हो । २०७५ सालमा महानगरले ह्विल्स ट्रुली योर्स प्रालिसँग पार्किङका लागि सम्झौता गरेको रहेछ । सम्झौता अवधि सकिन लागेपछि उहाँहरुले नवीकरणका लागि निवेदन दिनुभएको थियो । सडकमा पार्किङ गर्ने कार्य कानुनविपरीत भएकाले हामीले नवीकरण गरेनौं । न्यूरोड आसपासका क्षेत्रमा हामीले प्रशस्तै पार्किङको विकल्प दिएका छौं, त्यसैले महानगर आफ्नो निर्णयबाट कुनै हालतमा पछि हट्नेवाला छैन ।’
 

टिप्पणीहरू