हातहतियार नवीकरण गर्न सिडियो कार्यालयको सूचना

हातहतियार नवीकरण गर्न सिडियो कार्यालयको सूचना

जिल्ला प्रशासन कार्यालय, डोटीले हातहतियार नवीकरण गर्न आग्रह गरेको छ । ३५ दिनको समयसीमा दिँदै प्रशासनले इजाजत प्राप्त हातहतियार नवीकरण गर्न भनेको हो । 

विभिन्न मितिमा हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्ति तथा संस्थाहरुले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपयले नगराएको देखिएको प्रशासनले जनाएको छ । आज सूचना जारी गर्दै प्रशासनले तोकिएको समयभित्र हतियारको इजाजत प्राप्त व्यक्ति स्वयं उपस्थित भएर नवीकरण गर्न सूचित गराएको छ । 

‘यस जिल्लाबाट हातहतियार राख्ने इजाजत पत्र लिएका व्यक्ति–संस्थाहरुले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त व्यक्ति–संस्थाले तोकिएको समयभित्र हातहतियारको इजाजतपत्र नवीकरण गरेको यस कार्यालयको हातहतियार अभिलेखमा नदेखिएको हुँदा, यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नवीकरणको लागि हातहतियार र इजाजत पत्र सहित स्वयं उपस्थित भई नवीकरण गराउनुहुन...’, सूचनामा उल्लेख छ । 

त्यस्तै, पाँच वर्षभन्दा बढी समयावधिदेखि इजाजत पत्र नवीकरण नभएका हातहतियार प्रशासनमा बुझाउन भनिएको छ । तोकिएको समयमा हातहतियार नवीकरण नगर्ने र नबुझाउनेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

टिप्पणीहरू