काँग्रेसी नेताहरुको चियापानपछि निर्वाचन आयोगको २४ घण्टे पूर्जी
निर्वाचन आचारसंहिता उल्लंघन गर्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले चियापान कार्यक्रम आयोजना गरेपछि निर्वाचन आयोगले जिल्ला प्रशासन कार्यालय, मोरङलाई २४ घण्टे पूर्जी थमाएको छ ।
आयोगले घटनाको वास्तविकताबारे अनुसन्धान र छानबिन गरेर २४ घण्टाभित्र प्रतिवेदन पेश गर्न मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिताविपरीत विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसार गतिविधि गरेको जानकारी आएकाले सत्यतथ्य बुझ्न निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
‘मोरङ जिल्लाको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट आयोगमा प्राप्त हुन आएको छ । यस सम्बन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन् ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न...’, जारी विज्ञप्तिमा उल्लेख छ ।
भोलि हुने राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गरेर आयोगले गत अस्ति मध्यरात १२ बजेदेखि मतदान केन्द्र बन्द नहुञ्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलका भ्रातृ संगठन वा अन्य व्यक्ति तथा संघसंगठनले पालना गर्नुपर्ने विशेष आचरण जारी गरेको थियो ।
त्यसको उल्लंघन गर्दै डा. कोइरालाले विराटनगरस्थित आफ्नै निवासमा आज बिहान राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौला र मतदाताहरुलाई सहभागी गराएर चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।
टिप्पणीहरू